देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्र भैरहेको प्रधानमन्त्री ओलीको आरोप - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्र भैरहेको प्रधानमन्त्री ओलीको आरोप



काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारलाई जसरी पनि असफल बनाउने नियतकासाथ केही समूहहरु लागि परेको र काम गर्न नदिनका लागि नै मुद्दा मामिलामा अल्झाउने जालझेल भइरहेको बताएका छन् । उनले देश कोभिडसँग लामो समय जुध्नु परेको जनाउँदै यस्तो अवस्थामा पनि विकास निर्माणका कामहरु अघि बढाएको उनको भनाई थियो ।

गौरादह नगरपालिका वडा नं. ४ डोरामारी माध्यमिक विद्यालय भवनको मंगलबार भर्चुअल माध्यमबाट शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक असहयोग, खुट्टा तान्ने र देशमा विकास एवं उन्नती देख्न नचाहने प्रवृतिले काम गर्न नदिने परिस्थिति सिर्जना गरिएको बताए ।

कहिले के नाममा भाँजो हाल्ने त कहिले के नाममा भाँजो हाँल्ने कार्य भइरहेको छ, ओलीले भने । देशलाई प्रतिगमनतर्फ लैजाने षड्यन्त्र भएको समेत बताए । उनले देशलाई अग्रगतिको बाटोमा जान दिन नखोज्ने, लोकतान्त्रिक प्रकृयामा जान नदिने, सरकारलाई काम गर्न नदिने चौतर्फी प्रयासहरु भइरहेको छ, ओलीले भने ।

यति हुँदाहुदै पनि सरकार जनताको अपेक्षा अनुसार देश विकासमा दृढ संकल्पित भएर लागेको छ, ओलीले भने । अहिलेको सरकारले संविधाको रक्षा गरिछाड्ने, लोकतान्त्रिक प्रणालीको रक्षा गर्ने पनि उनले बताए । नेपाली जनताले संघर्ष गरेर ल्याएको प्रणालीलाई असफल बनाउने कार्य हुन नदिने पनि ओलीको भनाइ छ ।

जनतामा जाने र जनताबाट ताजा जनादेश लिने वातवरण सरकारले बनाउन लागेको पनि ओलीले स्पष्ट पारे । सरकारलाई काम गर्न नदिने, बैकल्पिक सरकार दिन नसक्ने अवस्था रहेको सबैलाई थाहा भएको बिषय हो, ओलीले भने ।

उनले झापा सहित देशभर विकास निर्माणका कामहरु तिब्र रुपमा अघि बढेको पनि बताए । अहिलेको कोरोनाको बिषय परिस्थितिका कारण चुनौती रहेको भन्दै यो संग सामना गर्दै अघि बढ्नेउनको भनाई थियो । सबै नागरिकलाई खोपको शुनिश्चित हुनेगरी काम भइरहेको ओलीको भनाइ थियो ।