ओलीको प्रशंसा गर्दै मोहन वैद्यले भने: यो भन्दा ओलीकै सरकार ठिक थियो - Himal Post Himal Post
  • २२ भाद्र २०८१, शनिबार
  •      Sat Sep 7 2024
Logo

ओलीको प्रशंसा गर्दै मोहन वैद्यले भने: यो भन्दा ओलीकै सरकार ठिक थियो



काठमाडौँ- नेकपा (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्यले नेकपा (माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरुसँग एकताको सम्भावना नरहेको बताएका छन्।

मंगलबार क्रान्तिकारी पत्रकार महासंघले काठमाडौंमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै महासचिव वैद्यले नेकपा(माओवादी केन्द्र) लगायतका पूर्व माओवादी घटकहरु बिचमा एकताको सम्भावना नरहेको बताएका हुन्।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकता हुन्छ भनेर लगातार भनिरहेको भएपनि सो पार्टीसँग एकताको कुनै सम्भावना नरहेको स्पष्ट पारे। आफूहरुले वर्तमान राज्यसत्ता तथा संसदीय व्यवस्थालाई स्वीकार गर्न नसक्ने र माओवादी केन्द्र संसदीय व्यवस्थाको संरक्षकको रुपमा अघि बढेकाले एकताको सम्भावना नरहेको उनको तर्क थियो।

उनले मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपासँग पनि एकताको सम्भावना नदेखिएको बताए। ती पार्टीहरुसँग पनि राजनीतिक लाइन नमिलेको उनको भनाई छ। कार्यक्रममा बोल्दै महासचिव वैद्यले एमसीसी परियोजना राष्ट्रघाती भएकाले खारेज हुनुपर्ने बताए। त्यसैगरी लिपुलेक, लिम्पियाधुरा र कालापानीको समस्या जटिल भइरहेको भएपनि वर्तमान सरकार केपी शर्मा ओली नेतृत्वको सरकार जति पनि बोल्न नसकेको बताए।

भारतिय प्रधानमन्त्री नरेन्द्र मोदीले सो क्षेत्रमा बाटो बिस्तारको काम जारी छ भनिराखेको भएपनि नेपाल सरकार भने चुप लागेर बसेको उनले बताए। उनले राष्ट्रिय स्वाधिनताको निम्ति सशक्त रुपमा उभिनुपर्ने आवश्यकता आंैल्याए। महासचिव वैद्यले आगामी संसदीय निर्वाचनमा आवश्यकता अनुसार पार्टीको केन्द्रीय कमिटीको निर्णयमा उपयोग अथवा वहिष्कारको नीति लिइने उल्लेख गरे।