ओलीकै जिल्लामा एमाले छोडेर राप्रपामा जानेको घुइँचो
काठमाडौं- एमाले अध्यक्ष केपी शर्मा ओलीकै गृहजिल्ला झापामा एमाले राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गर्नेहरूको लहर लागेको छ । पार्टी प्रवेश गर्नेहरू विभिन्न पार्टीका भएपनि सबैभन्दा धेरै भने एमाले छोड्नेहरू रहेको बताइएको छ ।
ओलीकै गृहजिल्लामा एमाले पार्टी परित्याग गरी राप्रपा प्रवेश गर्नेको जन लहर चलेपछि राप्रपाका नेताहरू उत्साहित बनेका छन् । केहिदिन अघि मात्र एमाले अध्यक्ष ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भर्खर जन्मेको बाच्छो धेरै कुद्छ भनेको केहिदिनमै ओलीको जिल्लामा लिङ्देनले पार्टी प्रवेशको अभियान चलाएका छन् ।
दैनिक तीन चार ठाउँमा पार्टीमा नवप्रवेशीलाई प्रवेश गराउने काम नवनिर्वाचित अध्यक्ष लिङ्देनले गरिरहेका छन् । राप्रपा अध्यक्ष लिङ्देनलाई नेपाली काँग्रेसको महाधिवेशन उद्घाटन समारोहमा ‘भर्खरै जन्मिएको बाछो धेरै उफ्रिन्छ’ भन्दै ओलीले व्यंग्य गरेका थिए । एमाले अध्यक्ष ओलीले लिङ्देनलाई सार्वजनिक रुपमा व्यंग्य गरे पनि उनै लिङ्देनले उल्लेखनीय संख्यामा ओलीको गृह जिल्लाका झापाली एमालेहरुलाई राप्रपामा प्रवेश गराएका छन् ।
शनिबारदेखि झापाका विभिन्न पालिकाका पार्टी कमिटीद्वारा आयोजित कार्यक्रममा उल्लेख्य संख्यामा स्थानीयहरु राप्रपा प्रवेश गरेको बताइएको छ । बिर्तामोडमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा ३ सय ६३ जना र सोही दिन साँझ बाह्रदशीमा भएको अर्को कार्यक्रममा ८७ जनाले पार्टी प्रवेश गरेको बताइएको छ ।
सोमबार भद्रपुर नगरपालिकाबाट बिकेन्द्र मेयाङ्बोलगायत विभिन्न दलबाट ५ सय २३ जना, कचनकवल गाउँपालिकाबाट ३६ जना र राधानगर र कुटु बस्तीबाट १ सय ३७ जनासमेत गरि ७ सय जना राप्रपा प्रवेश गरेका छन् । एमालेलगायतका दलबाट यसबीचमा झण्डै १३ सय जना आफ्नो दलमा प्रवेश गरेको राप्रपाको दाबी छ ।