एमाले महाधिवेशन प्रतिनिधि चयन: ओलीकै क्षेत्रमा समस्या
काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको गृहजिल्ला झापामै एमालेमा विवाद देखिएको छ । देशैभर निर्विरोध महाधिवेशन प्रतिनिधि छनौट गरेको एमालेले ओलीकै जिल्लामा निर्वाचनमार्फत् प्रतिनिधि छानेको छ ।
देशभर आफ्नै निर्देशनमा सर्वसम्मत प्रतिनिधि छान्न सफल भएका ओलीले आफ्नै जिल्लामा भने त्यस्तो गर्न सकेनन् । ओलीकै जिल्लाका नेताहरूले ओलीको निर्देशन नमानेर निर्वाचन गर्नुपर्ने अवस्था आएको छ ।
ओलीकै जिल्ला झापामा सहमतिमै प्रतिनिधि छनोटको प्रयास असफल भएको छ । प्रयास असफल हुँदा झापाका दुई वटा निर्वाचन क्षेत्रमा निर्वाचनबाट प्रतिनिधि छानिएको हो । पाँच वटा निर्वाचन क्षेत्र रहेको झापाका क्षेत्र नम्बर ३ र ४ मा निर्वाचन भएको हो ।
क्षेत्र नम्बर ३ र ४ बाहेक अन्य क्षेत्रमा भने सहमतिमै प्रतिनिधि छानिएका छन् । क्षेत्र नम्बर ३ मा नौ जना प्रतिनिधि चुनिएका छन् । जसमध्ये खुलातर्फ बसन्त बानियाँ, लक्ष्मण पाठक, जीवन श्रेष्ठ, डम्बरबहादुर गिरी र तिलबहादुर राई छन् । यस्तै, बराबर मत ल्याएका हरि तिम्सिना र मोहनचन्द्र रेग्मी दुवै जना प्रतिनिधि छानिए । महिलातर्फ शुभलक्ष्मी राई र चन्द्रा श्रेष्ठ निर्वाचित भए ।
झापा क्षेत्र नम्बर ४ बाट पनि ९ जना प्रतिनिधि छानिएका छन् । खुलातर्फ खेमनाथ मिश्र, चन्द्रकुमार सेर्मा, धनबहादुर थेवे, भैरवकुमार श्रेष्ठ, राजेन्द्रकुमार पोखरेल, राधाकृष्ण खनाल निर्वाचित हुँदा महिलातर्फ अमृता राई, इन्दिरा बस्नेत (भरत) र चम्पादेवी खनाल महाधिवेशन प्रतिनिधि बनेका छन् ।
अन्यत्रजस्तै झापामा पनि तत्कालीन माधव नेपाल समूह छाडेर एमालेमै बसेका मध्यमार्गी नेताहरूको उपस्थिति शुन्य देखिएको छ । निर्वाचन भएका क्षेत्र नम्बर ३ र ४ मा व्यक्तिगत प्रतिस्पर्धा भएको र उनीहरु सबै अध्यक्ष ओलीलाई ‘बा’ भन्नेहरु नै रहेको बुझिएको छ ।
मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने एमालेको १०औं महाधिवेशनका लागि शनिबारदेखि प्रतिनिधि छनोट भइरहेको छ । ७ लाख संगठित सदस्य रहेको एमालेले महाधिवेशनका लागि १ हजार ९ सय ९९ प्रतिनिधि छनौट गर्दैछ । देशैभरको अवस्था र प्रतिनिधि छनोट भइसकेका क्षेत्रको अवस्था हेर्दा ९० प्रतिशत भन्दाबढी ‘आई लभ यु ओली बा’ भन्नेहरु नै प्रतिनिधि बनेर आउने देखिएको छ ।