यस्ता छन् निर्वाचन जित्न ओलीका चार रणनीति
काठमाडौं । आगामी बैशाख ३० गतेका लागि तय भएको स्थानीय तह निर्वाचन समयमा हुने नहुनेमा अझै आशंका गरिरहेको प्रतिपक्षी दल एमालेले निर्वाचन लक्षित रणनीति बनाउन थालेको छ ।
उसले शुक्रवारबाट स्थानीय तह निर्वाचन तयारीका लागि केन्द्रीय प्रशिक्षण तथा अभिमुखीकरण कार्यक्रम शुरु गरेको छ । उक्त कार्यक्रम उदघाटन गदैं एमाले अध्यक्ष केपी ओलीले स्थानीय तह निर्वाचनका लागि एमालेले ४ रणनीतिका साथ काम गर्ने बताए ।
ओलीका अनुसार एमालेले ध्यान दिने चार विषयमा पहिलो छ– तोकिएकै मितिमा निर्वाचन गराउने । सत्ता गठबन्धन दल अझै पनि निर्वाचन समयमा गर्ने गरी अगाडी बढ्नेमा आशंका कायमै रहेको भन्दै ओलीले समयमै निर्वाचनका लागि सरकारलाई प्रेसर बढाईरहनुपर्ने ओलीको मत थियो ।
त्यस्तै ओलीले एमालेले दोस्रो ध्यान स्थानीय निर्वाचनलाई स्वतन्त्र, निश्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण वातावरणमा गराउनमा पनि विशेष ध्यान दिनुपर्ने बताए ।
एमालेले सत्तारुढ गठबन्धनसँग एक्लै लडेर बहुमत स्थानीय तहमा जित हासिल गर्ने ओलीको भनाई थियो । उनले त्यसकालागि एमालेका नेता कार्यकर्ताले निर्वाचन निश्पक्ष, स्वतन्त्र र धाँधलीरहित हुने कुरामा जोड गर्नुपर्ने बताए । ‘आउँदो निर्वाचनमा बहुमत स्थानीय तहमा जित्छौं, के गर्लान् विचराहरु ? भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ’ ओलीले भने, -‘बत्ती निभाएर जित्ने, मतपत्र च्यात्ने सपना नदेखे हुन्छ ।’
त्यस्तै उनले एमालेको तेस्रो ध्यान जनतलाई भ्रममा पार्ने, अन्योलमा पार्ने परमादेशवादीका प्रयास असफल पार्नेतर्फ जाने पनि बताए । चौथोमा ओलीले एमालेले स्थानीय तहका परिणामलाई देशभत्ति, लोकतन्त्र र संविधानको वास्तविक कार्यन्वयनको पक्षमा पार्न पनि विशेष ध्यान दिने बताए ।
‘यी कामहरुमा हामी अघि बढ्छौ र यिनै विषयलाई लिएर हामी प्रशिक्षण कार्यक्रमरु संञ्चालन गर्छौं । जसमा केन्द्रिय निर्वाचन विभाग, स्थानीय तह विभाग र पार्टी स्कुल विभागले संयुक्त रुपमा आफ्ना विषयमा केन्द्रित भएर प्रशिक्षण कार्यक्रम सञ्चालन गर्नेछन्,’ अध्यक्ष ओलीले भने ।