कांग्रेसको आरोप: ओलीले दम्भको श्रीपेच लगाए ? - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

कांग्रेसको आरोप: ओलीले दम्भको श्रीपेच लगाए ?



प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले सरकारले दुई तिहाइ बहुमतको दम्भ राखेर निर्णयहरू गरिरहेको आरोप लगाएको छ ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बिहीबार दिउँसो आयोजित पत्रकार सम्मेलन बोल्दै कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार राति मन्त्रिपरिषद् बैठकले अघिल्लो सरकारका राजनीतिक नियुक्ति खारेज गर्ने निर्णयको त्यही दम्भका आधारमा भएको भन्दै त्यसको विरोधमा उत्रने बताए ।

उनले अरू राजनीतिक नियुक्ति र प्रदेश प्रमुख नियुक्ति फरक भएको उल्लेख गर्दै प्रदेश प्रमुख हटाइए आन्दोलनसँग कानुनी उपचार पनि खोजिने बताए ।

‘चुनाव सकिएपछि केपी शर्मा ओलीजीले यो सरकारले नियुक्त गरेका प्रदेश प्रमुखबाट हाम्रा सांसदले सपथ खाँदैनन् भन्नुभयो । तर प्रदेश प्रमुखले सपथ खुवाएपछि मात्रै ती सांसदले राष्ट्रिय सभामा भोट हाल्न पाउने रहेछन् । राष्ट्रिय सभाको गठनपछिमात्र नयाँ सरकार बन्ने रहेछ । त्यही भएर त्यो राजनीतिक नियुक्ति थिएन । संवैधानिक दायित्व थियो,’ शर्माले भने,‘ओलीजीको त्यतिबेलाको भनाइ पनि गलत थियो । प्रदेश प्रमुख हटाउन खोजे अहिलेको कदम पनि गलत हुन्छ ।’

उनले तीन तहका चुनाव सम्पन्न भइसकेर देशमा राजनीतिक स्थायित्व भइरहेका बेला सरकारले जबर्जस्ति द्वन्द्व बढाउन खोजेको बताए ।

‘सामान्य बहुमतले नभएर उहाँहरूले दुई तिहाइ पुर्‍याउनु भयो । अहिले दुई तिहाइको दम्भको श्रीपेच लगाउँदै हुनुहुन्छ,’ शर्माले भने, ‘दम्भको श्रीपेच लगाएर लोकतन्त्रको रक्षा हुँदैन ।’

उनले सरकारी निर्णयको सडक, सदन, सञ्चारमाध्यम, सामाजिक सञ्जाल र सत्याग्रहमार्फत विरोध गर्ने बताए ।