श्री ५ ओली र योगेश भट्टराईको 'रामकहानी' - Himal Post Himal Post
  • १४ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 26 2024
Logo

श्री ५ ओली र योगेश भट्टराईको ‘रामकहानी’



काठमाडौं । प्रधानमन्त्री केपी ओलीलाई भेट्न सांसदहरुलाई समेत गाह्रो छ । प्रधानमन्त्री निवास बालुवाटारमा ओलीलाई भेट्न पुगेका तनहुँका नेकपाका सांसद किसान श्रेष्ठले ओलीसँग मोटर भेट गर्न परेको छ । ओलीलाई भेट्न बारम्बार प्रयास गरेका श्रेष्ठले भेट नपाएपछि विभिन्न ठाउँमा आक्रोश व्यक्त गरेका थिए । उनको आक्रोशको खबर प्रधानमन्त्री ओलीकोमा पनि पुगेको थियो ।

गत साता एक दिन समय नलिई श्रेष्ठ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । प्रत्यक्षदर्शीहरुका अनुसार उनी निकैबेर प्रधानमन्त्रीलाई भेट्न कुरिरहे । विकास निर्माण सम्बन्धी कतिपय जरुरी कुरा प्रधानमन्त्रीबाट गराउनु छ भन्दै उनले भेट चाहेका थिए । प्रधानमन्त्रीले समय दिएनन् । श्रेष्ठ त्यहिँ भएको बेला प्रधानमन्त्री बाहिर कुनै कार्यक्रममा जान निस्किए । अरुले सुन्ने गरी श्रेष्ठले भने, तपाईंसँग हामीले भेट्न नपाउने हो ?

त्यसपछि ओलीले किसानलाई आफ्नै मोटरमा राखे । कार्यक्रम हुने ठाउँ लगे । बाटोभरी किसानले आफ्नो कुरा राखे । किसानले जिल्लाका कार्यकर्ताहरुलाई सुनाए अनुसार उनले प्रधानमन्त्री ओलीलाई मोटरमा ठाडै भने, ‘तपाईं श्री ५ हो ? श्री ५ लाई भेट्न बरु सजिलो थियो, हामी सांसदले समेत भेट्न नपाउने तपाईं कस्तो प्रधानमन्त्री बन्नुभयो ?’

योगेश र जगन्नाथप्रति आक्रोश

प्रधानमन्त्री केपी ओली आफ्नो पार्टीका दुईजना नेताप्रति निक्कै आक्रोशित रहेछन् । ती दुईजना हुन् योगेश भट्टराई र जगन्नाथ खतिवडा ।

योगेशको प्रसंग अनौठो छ । योगेशले नाकावन्दीको बेलादेखि नै ओलीको अडान र अभिव्यक्तिको जोडदार समर्थन गर्दै आइरहेका छन् । ओलीको गुटकाहरुले भन्दा चर्काे समर्थन योगेशले गर्दै आएका छन् । तर, उनै योगेशप्रति ओली आक्रोशित छन् । कारण भने अज्ञात छ ।

गत आमचुनाव लगत्तै योगेशले भने, ‘प्रचण्ड र केपी ओली दुवैले सन्याश लिनुपर्छ ।’ त्यसबेला योगेश तत्कालीन एमालेका सचिव थिए । त्यसअघि चुनावका बेला ताप्लेजुङको आमसभामा ओलीले योगेशकाबारे भनेका थिए— ‘योगेशलाई चुनाव जिताउने जिम्मा तपाईंहरुको, मन्त्री बनाउने जिम्मा मेरो ।’

ओलीले योगेशलाई मन्त्री त बनाएनन् नै, संसदीय समितिको सभापति समेत बनाएनन् । संसदीय सुनुवाई विशेष समितिमा नेकपाको तर्फबाट योगेशले नै अगुवाई गरेका थिए । उनी नै सभापति बन्ने भनिएको थियो । तर, ओली मानेनन् ।

जानकार स्रोतहरुका अनुसार ओलीले नेकपाका प्रमुख सचेतक देवप्रसाद गुरुङ्गलाई बोलाएर समिति हेरफेर गर्नुपर्ने कुरा राखे । योगेशलाई सुनुवाई समितिबाट हटाएर अरु नै समितिमा पठाउनुपर्ने ओलीले बताए । तर, गुरुङ्गले भरखरै समितिका सांसदहरुको सरुवा गरिएको भन्दै फेरि सरुवा गर्दा समस्या आउने सुनाए ।

योगेशलाई सुनुवाई समितिबाट हटाएपछि सो समितिको सभापति अरुलाई नै बनाउन सकिन्थ्यो । योगेश हुँदाहुँदै अरुलाई सभापति पद दिन सजिलो देखेनन् ओलीले । योगेशलाई सभापति बनाउनुभन्दा अर्काे पार्टीलाई त्यो पद दिनु उपयुक्त देखे । फलतः राजपाका लक्ष्मणलाल कर्णको हातमा सो पद पुग्यो ।

ओलीलाई योगेश भन्दा लक्ष्मणलाल प्यारो भए ।

योगेश जसरी नै ओलीको शिकार बने जगन्नाथ खतिवडा । पार्टीको एक नम्बर प्रदेशको संयोजक या पदाधिकारी बन्ने चक्करमा लागेका जगन्नाथप्रति ओली गुटकाहरु पनि नरम नै देखिन्थे । सबै तारतम्य जगन्नाथको पक्षमा मिलेको थियो । तर, ओलीले मानेनन् । माधव गुटका भीम आचार्यलाई च्यापेर ओलीले जगन्नाथलाई किनारा लगाइदिए ।

योगेश र जगन्नाथ दुवैजना नेकपाका लोकप्रिय युवा नेता मानिन्छन् ।

ओलीको घडी

केपी ओली समयमा कुनै काम गर्दैनन्, कुनै काममा हतार गर्दैनन् । घडीको समयसँग ओलीलाई मतलब छैन । समयको ख्याल नराख्ने ओलीको पूरानै बानी हो र चर्चित बानी समेत हो ।

प्रधानमन्त्री ओलीका कारण नेकपामा एउटा उखान चल्न थालेको छ । उखान हो— ‘ओली टाइम ।’ कुनै काम ढिला हुने भयो, समयको कसैले ख्याल राखेन अथवा कोही कुनै ठाउँमा समयमै पुगेन भने भन्ने गरिन्छ— ‘ओली टाइम ।’

ओली टाइमका बारेमा प्रधानमन्त्री निवासमै केही नेताले ठट्टा गरे । जवाफमा प्रधानमन्त्रीका सल्लाहकार विष्णु रिमालले पनि ठट्यौलो पाराले भनिदिए— ‘ओली टाइम नभन्नुस् । आजकाल घडी नै प्रधानमन्त्रीज्यूलाई सोधेर चल्न थालेको छ ।’

सरलपत्रिकाको सहयोगमा