प्रधानमन्त्री ओलीलाई योगेशको निम्तो: प्रमुख अतिथि बन्न आइदिनुस
काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कार्यकर्ता भेलामा प्रमुख अतिथि बन्न निम्तो दिएका छन् ।
प्रधानमन्त्री ओलीले कार्यक्रममा नजर राखिने बताएपछि भट्टराईले आफै आएर प्रमुख अतिथि बन्न निम्तो दिएका हुन् ।
उनले केपी ओलीले गर्ने कारबाही भोग्न आफूहरु तयार रहेको बताएका छन् । ओलीको कारबाही भोग्न लामबद्द रहेको उनले बताए ।
बुधवार शुरू हुने माधव नेपाल पक्षधर राष्ट्रिय कार्यकर्ता भेलाको सन्दर्भमा आयोजित पत्रकार सम्मेलनमा भट्टराईले इतिहासले ओलीलाई निर्मम कारबाही गर्ने चेतावनीसमेत दिए ।
भट्टराईले भने, ‘आज उहाँले बालुवाटारबाट हामीलाई कारबाहीको धम्की दिनुभएछ । हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध भएका छौं । इतिहासले तपाईंलाई पनि कठोर कारबाही गर्नेछ र त्यो बेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन् । त्यसैले धम्कीको भाषा नाबोलौं, दुई वर्ष बालुवाटारमा चैनका साथ बस्नुस्, बारुदका गन्ध नफैलाउनुस् ।’
भट्टराईले कार्यकर्ता भेलाको प्रमुख अतिथि भएर उद्घाटन गर्न ओलीलाई आग्रहसमेत गरे ।