प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री यादव बीच खटपट - Himal Post Himal Post
  • ५ आश्विन २०८१, शनिबार
  •      Sat Sep 21 2024
Logo

प्रधानमन्त्री ओली र स्वास्थ्यमन्त्री यादव बीच खटपट



काठमाडौं । दुई तिहाईको सरकारका उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादव र प्रधानमन्त्री केपी शर्मा ओलीबीच खटपट शुरु भएको छ ।

मन्त्री यादवले सात वटै प्रदेशमा मानसिक स्वास्थ्यका बारेमा काउन्सिल दिने गरी रिफ्रेस अस्पताल बनाउने प्रस्ताव ल्याएका छन् । यूनाइटेड पोष्ट साप्ताहिकले समाचार छापेको छ ।

यो प्रस्तावप्रति प्रधानमन्त्री ओली सकारात्मक छैनन् । मन्त्री यादवको यति राम्रो प्रस्तावमा ओलीले चासो नदिएपछि खटपट शुरु भएको यादवको बुझाई छ । क्याविनेटको बैठकमा पनि मन्त्री यादव चुपचाप बस्ने गरेका छन् ।

उनले प्रधानमन्त्री ओलीसँग गरेको संविधान संशोधन लगायतका विषयहरूमा कुरा उठाउन नसकेको आरोप छ । ‘क्याविनेटको बैठक बस्दा उपेन्द्र यादवजी चुपचाप बस्नु हुन्छ । कुनै पनि प्रस्ताव ल्याउनु हुँदैन’, एकजना मन्त्रीले भने,‘प्रधानमन्त्रीज्यूसँग यादवजीको केही समस्या भएको जस्तो लागेको छ ।’

मन्त्री यादवको कार्यशैलीबाट मन्त्रीहरू पनि चकित परेका छन् । यादव मन्त्री बनेको दश महिना भैसकेको छ । उनले संविधान संशोधनको कुरा जोडदार रुपमा उठाउन सकेका छैनन् ।

त्यतिमात्र होइन, स्वास्थ्य मन्त्रालयका कर्मचारीहरूको सरुवा समेत इच्छा अनुसार गर्न नसकेको यादवमाथि आरोप छ । स्वास्थ्य विभागका कर्मचारीहरूले समेत मन्त्री यादवलाई टेर्न छाडेको चर्चा छ । स्वास्थ्य मन्त्रालयभित्रकै कर्मचारीहरूले पनि मन्त्री यादवलाई टेर्दैनन् ।

सप्तरी जिल्लाको अस्पताललाई गजेन्द्र नारायण सिंह नामाकरण गर्नु बाहेक स्वास्थ्यमन्त्री यादवले खासै कुनै पनि काम गर्न नसेकेको भनेर उनकै पार्टी संघीय समाजवादी फोरम नेपालका नेताहरूले बताउन थालिसकेका छन् ।

मन्त्री यादवले आफ्नो प्रेस सल्लाहकारमा नेपाली कांग्रेस निकटका गोरखापत्र दैनिकका पत्रकार भक्त थापालाई नियुक्ति गरेपछि विवाद आएको छ । थापाले आफू अनुकूलका काम गर्दै आएको मन्त्रालयमा चर्चा छ ।

यादवले मन्त्रीको जिम्मेवारी लिएको दश महिना पुग्न लाग्दा समेत कुनै पनि नीतिगत काम गर्न सकेका छैनन् । पछिल्लो समय मन्त्रालयभित्र र संघीय फोरममा मन्त्री यादवको आलोचना बढ्दै गएको छ ।

संघीय समाजवादी फोरमकै केही नेताहरूले सरकारमा प्रभावकारी काम गर्न नसक्ने हो भने यादलाई कि त प्रधानमन्त्री ओलीले बर्खास्त गर्नु पर्ने कि उनी आफै सरकार छाडेर बाहिर बस्नुपर्ने आवाज उठाउन थालेका छन् ।