अछाममा ओली भर्सेस रावल, कडा टक्कर - Himal Post Himal Post
  • १२ श्रावण २०८१, शनिबार
  •      Sat Jul 27 2024
Logo

अछाममा ओली भर्सेस रावल, कडा टक्कर



अछाम – एमाले अछामको आठौँ जिल्ला अधिवेशनअन्तर्गत नयाँ नेतृत्वका लागि अहिले मतगणना भइरहेको छ। नयाँ नेतृत्व चयनका लागि मंगलबार मतदान भएको थियो। बिहान ८ बजेदेखि मतगणना सुरु हुने भनिए पनि साढे तीन घन्टा ढिला गरी मतगणना सुरु भएको हो।

सदरमुकाम मंगलसैनस्थित जिल्ला समन्वय समितिको हलमा मतगणना भइरहेको निर्वाचन अधिकृत खडक खड्काले जानकारी दिए। उनका अनुसार पदाधिकारीको नतिजा आजै साँझसम्म सार्वजनिक भइसक्ने छ। सदस्यहरूको गणना राति अबेरसम्म सक्ने उनले बताए।

अधिवेशनमा ७६२ प्रतिनिधिमध्ये ७४९ जनाले मतदान गरेका थिए। अछामको एमाले नेतृत्वका लागि दुईवटा समूह चुनावी मैदानमा छन्। पार्टी अध्यक्ष केपी ओली समूहबाट चन्द्र बोहरा र नेता भीम रावल समूहबाट प्रकाश शाह प्यानलसहित प्रतिस्पर्धामा छन्।

बोहरा प्यानलबाट उपाध्यक्षमा भीम विष्ट, सचिवमा आदर्श साउद उम्मेदवार छन् भने शाह प्यानलबाट उपाध्यक्षमा बलबहादुर कुँवर र सचिवमा भीम रावल (कालो टोपी) मैदानमा छन्।

उपसचिवमा शाहको प्यानलबाट प्रेम महर र प्रेम खत्री उम्मेदवार बनेका छन्। बोहरा प्यानलमा सहमति नहुँदा चारजना उम्मेदवार बनेका छन्। उपसचिवमा उम्मेदवार बनेका नवराज साउद, टोपबहादुर शाही, शेरबहादुर बुढा र लीलाराज केसी बोहरा निकट मानिन्छन्। -न्युज कारखाना