जे आफैले सिकाए, त्यहि शिक्षाले त्रसित छन् ओली - Himal Post Himal Post
  • १२ पुष २०८१, शुक्रबार
  •      Fri Dec 27 2024
Logo

जे आफैले सिकाए, त्यहि शिक्षाले त्रसित छन् ओली



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले पार्टी बिगार्न सरकारले थप षड्यन्त्र गर्न सक्ने बताएका छन् । शुक्रबार बसेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले अर्काको पार्टी फुटाउन आफैले गरेजस्तो यो सरकारले पनि गर्नसक्ने संकेत गरेका छन् ।

ओलीले जनता समाजवादी पार्टे फुटाउनकै लागि अध्यादेश जारी गरेका थिए । तीव्र विरोधका कारण उनले अध्यादेश फिर्ता लिनुपरेको थियो । शुक्रबारको पार्टी बैठकमा ओलीले यहि परिकल्पना आफू निकट नेताहरूलाई सुनाए । यो सरकारले अध्यादेश ल्याएर एमाले फुटाउने प्रयास गर्नसक्ने उनले बताए ।

बैठकमा उनको प्रस्तुतिले आफैले सिकाएको शिक्षा देउवाले आफ्नै पार्टी फुटाउन प्रयोग गर्छन भन्ने शंकामा ओली थिए । आफैले आफ्ना पार्टीका नेताहरूलाई लगातार पेलेको भुलेर ओलीले कांग्रेसले एमाले फुटाउने कल्पाना समेत गरे ।

प्रधानमन्त्री पदबाट हटेपछि शुक्रबार पहिलोपटक बोलाएको पार्टी संसदीय दलको बैठकमा बोल्दै ओलीले अदालतलाई प्रमुख सत्रुका रूपमा चित्रण गरे । ओलीमा आफू सत्ताच्युत हुनुपर्दाको पिडा छर्लङ्ग देखिन्थ्यो । उनले अदालतले कीर्ते कागजलाई मान्यता दिएको समेत दाबी गरे ।

‘निवेदक र बार एशोसिएसनको दबाबमा इजलास बनेसँगै षड्यन्त्र शुरु भएको थियो,’ उनले भने, ‘यो फैसलामा हाम्रो सहमति छैन । तर हामी लोकतन्त्रवादी भएकाले कार्यान्वयन गरिसकेका छौं ।’

एमालेविरुद्ध थप षड्यन्त्र हुने भन्दै उनले भने, ‘सदन छोटो समय बसेर टुंग्याउन सक्छन्, प्रदेश र स्थानीय तहमा पनि दुःख दिन सक्छन् । दमनको शुरुवात हुनसक्छ ।’

एमाले अध्यक्ष एवं संसदीय दलका नेता ओलीले वर्तमान सरकारलाई समर्थन गर्न नसक्ने प्रष्ट पारे । सरकारलाई समर्थन गर्न सकिन्छ भन्नेहरुको धारणा व्यक्तिगत हो,’ उनले भने ।

शुक्रबार बिहान बसेको स्थायी कमिटी बैठकले पनि सरकारलाई विश्वासको मत नदिने निर्णय गरेको थियो । एमालेले रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने र सरकारलाई जनहितविरुद्ध काम गर्न नदिने ओलीको भनाइ थियो ।

सरकार टिक्दैन

संसदीय दलको बैठकमा ओलीले हालको सरकारले मन्त्रिपरिषद् विस्तार गर्न नसकेको बताएका छन् । ओलीले देउवा सरकारले मन्त्रिपरिषद् बिस्तार गर्न नसकेर अनेकौं प्रलोभन देखाइरहेको आरोप लगाए।

साथै ओलीले आफूहरुले ल्याएको खोपबारे भ्रम फिजाउन थालिसकेको आरोप बताएका छन् । ओलीको भनाइ उद्धृत् गर्दै सांसद महेश बस्नेतले भने , ‘देउवा सरकारले मन्त्रीमण्डल विस्तार गर्न सकिरहेको छैन । माइतीघरको चलिचत्रको गीत म प्यार बेचिदिन्छु, बहार बेचिदिन्छु भन्नेझै म मन्त्री बनाइदिन्छु, म सबै कुरा मिलाइदिन्छु भन्न थालेका छन्, पार लाग्दैन ।’

त्यसैगरी अध्यक्ष ओलीले संसद अधिवेशन चाँडै अन्त्य गरेर अध्यादेशमार्फत एमाले एमाले फुटाउन प्रयास हुनसक्ने जानकारी दिएका छन् ।

एकता नगर्ने

ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेका छन्। दोस्रो तहका नेताले महिनौं लगाएर तयार पारेको १० बुँदे सहमति प्रतिकूल हुनेगरी शुक्रबार स्थायी कमिटी र संसदीय दलको बैठक राखेपछि ओलीले नेपाल समूहसँगको एकता अस्वीकार गरेको संकेत मिलेको छ।

ओलीले विवाद निरूपण कार्यदलसमेत भंग गरेका छन्। सर्वोच्च अदालतले संसद् पुनस्र्थापना गर्नुअघि असार २७ गते कार्यदलले १० बुँदे सहमति गरेको थियो। सो सहमतिपत्रमा नेपाल पक्षका रघुजी पन्तबाहेक सबैले हस्ताक्षर गरेका छन्। शुक्रबारको स्थायी कमिटी बैठकले त्यसलाई अनुमोदन गरे पनि बैठकमा नेपाल पक्षका नेता उपस्थित भएनन्।

बैठक सुरु भइसकेको अवस्थामा नेपाल पक्षका कार्यदल सदस्य भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण बिष्ट र भीम आचार्य पुगेर बैठक स्थगित गर्न आग्रह गरेका थिए। उनीहरूले १० बुँदे सहमतिअनुसार ओली र नेपालबीच संवादबाट मात्रै बैठक राख्नुपर्ने बताएका थिए।

ओलीले बैठक नरोकिने बताउँदै कार्यदलसमेत विघटन गरिदिए। ‘दुवै पक्षका नेताहरूले कार्यदलमा स्थायी कमिटीका अरू सदस्य पनि थपेर शीर्ष नेतालाई एकताका लागि दबाब दिने योजना बनाइरहेका बेला ओलीले कार्यदल नै विघटन गरिदिए’, एक नेताले भने, ‘मिल्न दबाब आउने थाहा पाएरै होला कार्यदल विघटन गरेको।’ ओली नेपालसँग कुराकानी गर्न चाहँदैनन्।

प्रधानमन्त्रीमा कांग्रेस सभापति शेरबहादुर देउवाले विस्थापन गरेपछि सरकारी निवास त्यागेर निजी निवास बालकोट पुगेलगत्तै ओलीले नेता नेपाललाई एमालेमा कुनै ठाउँ नभएको अभिव्यक्ति दिएका थिए। त्यसपछि ओलीबाट १० बुँदे सहमति कार्यान्वयन हुनेमा आशंका उत्पन्न भएको थियो। ‘उहाँले जुन अभिव्यक्ति दिनुभयो, त्यसबाट पनि समस्या उत्पन्न भइरहेको थियो। आज (शुक्रबार) बैठक स्थगित नगरेर थप समस्या आएको छ’, नेपाल पक्षका नेता रावलले भने।

नेपाल पक्षबाट कार्यदलमा रहेका नेताले संसदीय दलको बैठक पनि रोक्न आग्रह गरेका थिए। तर ओलीले बैठक सञ्चालन गर्दै सर्वोच्च अदालतको फैसलाको ‘देशव्यापी भण्डाफोर’ गर्ने निर्णय गराए।