ओलीले भने: अब ठीक कि बेठीक भन्न पाइदैन - Himal Post Himal Post
  • ५ जेष्ठ २०८१, शनिबार
  •      Sat May 18 2024
Logo

ओलीले भने: अब ठीक कि बेठीक भन्न पाइदैन



काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशका लागि संघीयता ठीक कि बेठीक भनेर भन्न नपाइने बताएका छन् । अब यसलाई बहसको बिषय पनि बनाउन नहुने पनि उनले बताएका छन् ।

चौथो संविधान दिवसका अवसरमा सरकारले सैनिक मञ्च टुडिखेलमा आयोजना गरेको विशेष कार्यक्रममा ओलीले संघीयता कार्यान्वयन गर्नु नै आजको आवश्यकता भएको बताएका हुन् ।

संविधान निर्माणका क्रममा संघीयता नेपालका लागि ठीक कि बेठीक भनेर बसह हुनु स्वभाविक भए पनि राष्ट्रले निर्णय गरेर अघि बढिसकेको अवस्थामा कार्यान्वयन नै एक मात्र विकल्प रहेको उल्लेख गरे ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘बहस र तर्क/वितर्क निर्णयमा पुग्नुअघि मात्र स्वाभाविक हुन्छ । तर, जब राष्ट्रले निर्णय लिन्छ, नेतृत्वकर्ताले त्यसलाई दृढतापूर्वक लागू गर्छ । राजकीय मामिलामा प्रतिवद्धता हुन्छ, त्यहाँ ‘यसो वा उसो, किन्तु/परन्तु, अन्यौल र अलमल’लाई स्थान हुँदैन ।’

उनले व्यवहारको कसीमा घोटिने क्रममा नै संघीयताले सफलता पाउने दाबी गरे ।

ओलीले समयको क्रमसँगै संविधानमा नमिलेका विषय संशोधन गरिने प्रतिबद्धता जनाए । मधेस केन्द्रित दलले संविधान दिवसलाई कालो दिनका रुपमा घोषणा गरेर संशोधनका लागि दबाब दिँदै आए पनि तत्काल संशोधन नहुने संकेत गरे ।

‘संघीयता होस् वा संविधान, कतै छेउकुना नमिलेको भए, कहिँ कतै राँटो बाँकी रहेको भए समयक्रममा मिल्छ, मिलाइन्छ । व्यवहारको कसीमा अमिल्दा देखिएका विषयहरुको परिमार्जन र संशोधन हुन्छ, ओलीले भने ।