निसर्त जेठ २ मा फर्किएको घोषणा गर्ने ओलीको तयारी, माधव नेपालबारे बैठकमा चर्चा - Himal Post Himal Post
  • ११ पुष २०८१, बिहीबार
  •      Thu Dec 26 2024
Logo

निसर्त जेठ २ मा फर्किएको घोषणा गर्ने ओलीको तयारी, माधव नेपालबारे बैठकमा चर्चा



काठमाडौं- प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल समूहलाई पार्टीमै फर्काउन एकताको घोषणा गर्ने तयारी गरेका छन् । ओलीले माधव नेपाल समुहको माग अनुसार नै पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ मा फर्किएको औपचारिक घोषणाको तयारी गरेका छन् ।

आज बालुवाटारमा बसेको स्थायी कमिटिको बैठकमा यसबारे छलफल भएको बताइएको छ । एकताको औपचारिक घोषणाका लागि ओलीले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाएको जनाइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले यसबारे पुर्ण तयारी गरेका छन् ।

बालुवाटारमा आज बसेको बैठकमा यस्तो घोषणा गरेपनि माधव नेपाल र केहि नेता भने एमालेमा नफर्कने निष्कर्षमा रहेको बताइएको छ । नेपाल एमालेमा नफर्किए पनि अरु नेता कार्यकर्तालाई फर्काउनका लागि नेपाल पक्षले माग गरे बमोजिम जेठ २ मा फर्किने निर्णयसहित औपचारिक आह्वान गर्ने तयारी ओलीले गरेको बताइएको छ ।

माधव नेपाललाई फर्काउन र पार्टी एकता बचाउन एमाले ओली समुहका नेताहरूले अहिले केपी शर्मा ओलीलाई दवाव बढाएका छन् । त्यहि प्रयोजनका लागि गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ काठमाण्डौ आएका छन् । उनी लगायतको समुहले अब एमाले एक हुन नासक्नेहो भने प्रदेशमा मात्र होइन देशभर नै एमाले क्षतविक्षत हुने भन्दै दवाव दिएका थिए ।

आज बसेको बैठकमा एमालेको एकताका लागि जेठ २ मा फर्किएको घोषणा गरिएपनि माधव नेपाल र भिम रावल लगायतका नेताहरू नफर्किने ब्रिफिङ गरिएको थियो । नेपाल आफैंले शनिबार पत्रकारहरूसँग आफूलाई प्रधानमन्त्रीको अफर आइसकेको खुलासा गर्दै तर विपक्षी गठबन्धन छाडेर ओलीसँग मिल्न नजाने प्रष्ट पारिसकेका छन् ।

नेपाललाई यसबीचमा दोस्रो अध्यक्षको अफर समेत गरिएको तर उनले एकल अध्यक्ष दिए पनि अब एमालेमा नबस्ने जवाफ दिएको बताइएको छ । बैठकमा केही नेताले एकताका लागि र माधव नेपाललाई एमालेमा राख्नका लागि अधिकतम लचिलो बन्न अध्यक्ष ओलीलाई सुझाव दिएका थिए । ओलीले सबै प्रयास गर्दा पनि माधव नेपाल विपक्षी गठबन्धनबाट फर्किने ठाउँमा नरहेको बताएका थिए ।

आज बसेको बैठकबारे प्रवक्ता प्रदीप ज्ञवालीले प्रधानमन्त्री निवास बालुवाटारमा बसेको स्थायी कमिटी बैठकमा सर्वोच्च अदालतका पछिल्ला आदेश तथा फैसला र माधव नेपालको क्रियाकलापबारे छलफल भएको बताए । उनले थप निर्णय गर्न फराकिलो र उच्च तहबाट छलफल गर्नुपर्ने भएकाले महाधिवेशन आयोजक कमिटीको बैठक बोलाइएको जानकारी दिएका थिए ।

एमाले स्रोतका अनुसार आइतबारको बैठकमा माधव नेपाल एमालेमा नफर्किने निष्कर्ष निकालिएको छ । माधवपक्षीय नेताहरूसँगका वार्तामा सहभागी नेताहरुले बैठकमा ब्रिफिङ गर्दै अध्यक्ष वा प्रधानमन्त्री दिए पनि नेपाल एमालेमा नफर्किने निष्कर्ष सुनाएको एक नेताले बताए ।