वक्तव्य निकालेरै ओलीले भने: एमालेलाई जेठ २ मा फर्काउन म तयार भएँ - Himal Post Himal Post
  • ७ फाल्गुन २०८२, बिहीबार
  •      Thu Feb 19 2026
Logo

वक्तव्य निकालेरै ओलीले भने: एमालेलाई जेठ २ मा फर्काउन म तयार भएँ



काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू पार्टीलाई २०७५ जेठ २ अघिको पूर्व अवस्थामा पार्टीलाई लैजान ,तयार बहेका छन् । प्रधानमन्त्री ओलीले आफू सहमतिमा आउन तयार रहेको भन्दै सबैलाई पार्टी एकतामा आउन आह्वान गरेका छन् ।

एक विज्ञप्ति जारी गर्दै ओलीले यसबीचमा भएका कारवाही फिर्ता गरिने र कुनै पुर्वाग्रह र भेदभाव नराखिने समेत बताएका छन् ।

उनले जारी गरेको विज्ञप्तिमा पार्टी एकताको पक्षमा रहेकाहरुको आधारमा केन्द्रीय कमिटी र स्थायी कमिटी सक्रिय रहने, मातहतका कमिटी र जनसंगठनहरु पनि जेठ ३ पूर्वको अवस्थामा सक्रिय हुने बताइएको छ । साथै यस बीचमा पार्टीका कुनै नेताबाट भएका गल्ती कमजोरीलाई लिएर कुनै कारबाही नगरिने, पूर्वाग्रह नराखिने र भेदभाव नगरिने पनि उल्लेख गरिएको छ ।

‘नेकपा (एमाले) लाई २०७५ साल जेठ ३ गते पूर्वको अवस्थाबाट अगाडि बढाइने छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को केन्द्रीय कमिटीका सदस्यहरुमध्ये एकताको पक्षमा उभिनु भएका कमरेडहरुलाई आधार मानेर केन्द्रीय कमिटी र स्थायी कमिटीका संरचना गतिशील हुने छन्,’ ओलीले जारी गरेको वक्तव्यमा छ ।

पार्टीलाई पूर्ववतः अवस्थाबाट सञ्चालन गर्न तयार भएका ओलीले विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाउन माग गर्दै सर्वोच्च अदालतमा परेको रिट निवेदनबाट एमाले सांसदहरुको हस्ताक्षर फिर्ता लिन प्रस्ताव गरेका छन् ।

‘आफ्नो पार्टीका अध्यक्षलाई प्रधानमन्त्री पदबाट हटाई विपक्षी दलका नेतालाई प्रधानमन्त्री बनाइयोस् भन्ने मागसहित सर्वोच्च अदालतमा प्रस्तुत रिट निवेदनमा प्रयोग गरिएको नेकपा (एमाले) का निवर्तमान सांसदहरुको हस्ताक्षर फिर्ता हुने छ,’ ओलीले भनेका छन् ।

एमालेको माधव नेपाल झलनाथ खनाल समूहले पार्टी एकताका लागि जेठ ३ पूर्वको अवस्थाबाट पार्टी संगठन अघि बढाउनु पर्ने र कारबाहीहरु फुकुवा हुनुपर्ने माग गरिरहेको थियो ।