कहाँबाट आयो प्रधानमन्त्री ओलीको स्वीस बैंकमा ५५ लाख डलर ?
काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीको स्वीस बैंकमा खाता रहेको र त्यसमा ५५ लाख डलर जम्मा भएको सनसनीपूर्ण खुलासा ग्लोबल वाच एनालिसिसले गरेको छ । आज प्रकाशित उसको रिपोर्टमा जेनेभाको मिराबौड बैंकमा उक्त खाता रहेको रोल्यान्ड ज्याकार्डद्वारा तयार पारिएको रिपोर्टमा उल्लेख छ ।
बौलेभार्ड जर्जस फेभन भवनमा उक्त बैंक रहेको छ । ओलीको पत्नी राधिका शाक्यसँग संयुक्त खाता रहेको समाचार रिपोर्टमा भनिएको छ । उक्त रकम लामो समयका लागि निक्षेपमा रहेको र वार्षिक ५ लाख डलर आरामले फिर्ता हुने गरेको समेत उल्लेख छ । जम्मा भएको रकम नेपाली ६६ करोड ३४ लाख हुनआउँछ । वर्षेनी आउने रकम नेपाली रुपैयाँ ६ करोड हो ।
प्रधानमन्त्री ओलीको केही वर्ष यता सम्पत्ति निकै बढेको भनिएको छ । सम्पत्ति कसरी जम्मा भयो भनेर समेत लेखिएको छ । जसमा उनले चिनियाँ कम्पनिसँग गर्न लगाएको सम्झौताहरुवापत् प्राप्त भएको कमिशन भनिएको छ । हङकङमा रहेका चिनियाँ कम्पनि चाइना कम्युनिकेशन सर्भिस र जेटीईसँगको सम्झौता उल्लेख छ । ती कम्पनिहरुसँग क्रमशः रेडियो पहुँच सञ्जालको विकास र नेपाल टेलिकमको फोर जी नेटवर्क जडानका लागि सम्झौता भएको थियो ।
उक्त योजना १९ अर्ब नेपाली रुपैयाँ बराबरको थियो । बुढिगण्डकी जलविद्युत आयोजना विना प्रतिष्पर्धा दिइएको विषयबारे उल्लेख छ । यसअघि शेरबहादुर देउवाले गरेको निर्णय उल्टाउनुमा चिनियाँ कम्पनिको चाहना अनुसार पनि भएको रिपोर्टमा भनिएको छ ।
टेलिकम्युनिकेशनको ठेक्कासम्बन्धी गतिविधिमा प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमालको छोराको नाम पनि जोडिएको छ ।
चिनियाँ कम्पनिहरुले भिडियो कन्फरेन्सको सुविधासहित डिजिटल एक्सन रुम प्रधानमन्त्री कार्यालयमा बनाउन ठेक्का पाएको उल्लेख छ ।
ओली पहिलोपटक प्रधानमन्त्री बन्दा र दोस्रो पटक प्रधानमन्त्ती बन्दा चीनसँग सम्बन्ध गाँसेर भ्रष्टाचारहरु गरेको दाबी गरिएको छ । उनले तत्कालिन चिनियाँ राजदुन हु चुन्ताईको सहयोगमा कम्बोडियाको टेलिकम्युनिकेशनमा लगानीको प्रक्रिया चालेको भनिएको छ । उक्त डिल दिवंगत व्यवसायी आङ छिरिङ शेर्पाले टुंगोमा पुर्याएको रिपोर्टमा उल्लेख छ ।
स्वीस बैंकहरु कालो धन लुकाउने स्वर्ग बनेको तथ्य बेला बेलामा सार्वजनिक हुनेगर्छ । त्यहाँ बैंकिङ गोपनीयता खुलाउनेलाई जघन्य अपराध मानिन्छ । त्यसैले कसैले पनि खुलाउँदैन । यति गोप्य रहने स्वीस बैंकमा प्रधानमन्त्री ओलीको रकम जम्मा भएको विषय बाहिरिनुलाई गम्भीर रुपमा लिइएको छ ।