प्रचण्ड–नेपाल समुहले केन्द्रीय सदस्यलाई भने: ओली ‘स्टेप डाउन’ हुनुको विकल्प छैन - Himal Post Himal Post
  • २४ माघ २०८१, बिहीबार
  •      Thu Feb 6 2025
Logo

प्रचण्ड–नेपाल समुहले केन्द्रीय सदस्यलाई भने: ओली ‘स्टेप डाउन’ हुनुको विकल्प छैन



काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको तिक्तता अन्त्यका लागि भैरहेका प्रयास निष्प्रभाव हुँदै गैरहेका बेला बिहीबार प्रचण्ड–नेपाल समूहले भने प्रदेश ५ का केन्द्रीय सदस्यहरूलाई बोलाएर भेला गरेका छन् ।

पार्टी अध्यक्ष केपी शर्मा ओलीले जस्तै प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल समूहले समानान्तर भेला, बैठकलाई तीव्रता दिन थालेका छन् ।काठमाडौंको प्रेसिडेन्सियल कलेजमा पाँच नम्बर प्रदेशभित्रका पार्टी केन्द्रीय सदस्यलाई बोलाएर विवादबारे ब्रिफिङ गरेका छन् ।

भेलामा प्रचण्डका अतिरिक्त वरिष्ठ नेता झलनाथ खनाल, नेता नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ उपस्थित थिए । त्यस्तै स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, घनश्याम भुसाल, देव गुरूङलगायत नेता उपस्थित रहेको बताइएको छ । भेलामा पाँच नम्बर प्रदेशका करिब २० जना केन्द्रीय सदस्य उपस्थित थिए ।

भेलामा प्रचण्डका अतिरिक्त अरू शीर्ष नेताहरूले ओली सहमतिमा आउन नचाहेको तर ‘स्टेप डाउन’ हुनुको विकल्प नै नरहेको बताएका थिए । अहिलेको लडाइँ पदको लेनदेन होइन, विचार, सिद्धान्त र कार्यदिशाबारे नै भएको बताउँदै अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीको चिन्तन, कार्यशैली नै समस्याको कारक रहेको औंल्याएका थिए ।

“कार्यक्रममा अहिलेसम्मको अवस्थाको बारेमा ब्रिफिङ गर्ने काम भएको थियो । अध्यक्ष कमरेडले पार्टीलाई विधिमा नहाली अगाडि जान सक्दैन । ओलीलाई कुनै हालतमा स्टेप डाउन गर्नुपर्छ भन्नु भयो,” भेलामा सहभागी एक नेताले भने । ओलीको स्वेच्छाचारिताले सीमा पार गरेको सामूहिक लडाइँ लड्नुपर्ने बेला आएको प्रचण्डको भनाइ रहेको ती सदस्यको दाबी छ ।

“ओलीको एकाधिकार तोड्न संघर्ष गरिएको हो । उनले अनेक हतकन्डा अपनाएर आफूलाई सुरक्षित तुल्याउन खोजेका छन्,” प्रचण्डको भनाइ उद्धृत गर्दै एक नेताले भने, “हामी सचेत हुनुपर्छ ।” प्रचण्ड–नेपाल समूहको भेला बैठक जारी छ । बुधबार उनीहरूले गण्डकी प्रदेशका केन्द्रीय सदस्यहरूसँग सोही कलेजमा भेटवार्ता गरेका थिए ।

यसैबीच बिहीबार १० दिनपछि दुई अध्यक्ष छलफलमा जुटेका थिए । सहजीकरणका लागि ओलीका तर्फबाट महासचिव विष्णु पौडेल र शङ्कर पोखरेल तथा प्रचण्डका तर्फबाट जनार्दन शर्मा वार्तामा सहभागी थिए । दुई अध्यक्षको वार्ता समस्या समाधानउन्मुख रहेको प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा जुगलले जानकारी दिएका थिए ।