ओलीलाई भेट्न शेखर कोइराला बालकोट पुगे, के भयो कुराकानी ?
काठमाडौँ- एमसीसीका कारण राजनीति तरंगित भैरहेका बेला नेपाली काँग्रेसका नेता डा. शेखर कोइराला नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गर्न बालकोट पुगेका छन् ।
डा. शेखर कोइराला मंगलबार साँझ ओलीलाई भेट्न बालकोट पुगेका हुन् । ओली र कोइरालाबीच भेटवार्ता भइरहेको ओलीका प्रेस विज्ञ रामशरण बजगाईंले बताए ।
दुई नेताबीच के विषयमा भेटवार्ता भयो भन्नेबारे सर्वत्र चासो बनेको छ । सोमबार सरकारले स्थानीय तह निर्वाचनको मिति तोकेपछि मंगलबार कोइराला ओली निवास पुग्नुलाई अर्थपूर्ण रूपमा हेरिएको छ ।
भेटमा एमसीसी र संसद सुचारु गर्ने लगायतका विषयमा पनि कुराकानी भएको बताइएको छ । कोइराला निकट स्रोतका अनुसार पूर्वनिर्धारित कार्यक्रम अनुसार भेटघाट भएको हो ।
यसअघि ओली प्रधानमन्त्री हुँदा पनि कोइराला ओलीलाई भेट्न बालुवाटार नै पुग्ने गरेका थिए । उनीहरुबीच पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बताइएको छ ।