देउवासँग एक घण्टा ‘वान टु वान’पछि ओलीले भने : ‘गज्जब भयो’
काठमाडौँ- एमाले अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटवार्ता राम्रो भएको बताएका छन् । ओलीलाई भेट्न प्रधानमन्त्री देउवा बालकोटस्थित ओलीको निवासमै पुगेका थिए ।
देउवा–ओलीबीच एक घण्टासम्म ‘वान टु वान’ वार्ता भएको थियो । तर, उनीहरूबीच के–के कुराकानी भएको हो ? त्यसबारे सचिवालयले खुलाएका छैनन् ।
भेटपछि देउवा केही नबोली बाहिरिए । ओलीले पनि सञ्चारकर्मीको जिज्ञासामा लामो जवाफ दिएनन् । वार्ता कस्तो भयो ? भन्ने सञ्चारकर्मीको प्रश्नमा ओलीले भने, ‘गज्जब भयो ।’
ओलीका प्रेस संयोजक रामशरण बजगाईंले दुई नेताहरुबीच एक घण्टासम्म वार्ता भएको, तर ‘वान टु वान’ वार्ता भएकाले आफूलाई थाहा नभएको बताए ।
प्रधानमन्त्री देउवा बालुवाटार फर्किदैछन् । उनको सचिवालयले पनि त्यसबारे बोलेको छैन ।
शुक्रबार बसेको उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठकले संसद् अवरोध र न्यायालयको समस्याबारे प्रधानमन्त्री देउवालाई ओलीसँग वार्ता गर्न आग्रह गरेको थियो ।
यसअघि समितिका संयोजकसमेत रहेका कांग्रेस नेता रामचन्द्र पौडेल बालकोट पुगेर ओलीसँग कुरा गरेका थिए । पौडेल–ओली वार्तापछि गठबन्धनमा छलफल गरेरै देउवा ओली निवास गएका हुन् ।