बैठकको कुनै औचित्य छैन, म दुवै पद छाड्दिनँ: प्रधानमन्त्री ओली
काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाको सचिवालय बैठकले पार्टीमा देखिएका विवादको निरुपणका लागि सबै प्रस्तावहरू स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार ३ घण्टा बसेको बैठकपछि संचारकर्मीसंग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो जानकारी दिएका हुन् ।
स्थायी कमिटीको बैठक भोलि आइतवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने श्रेष्ठले जानकारी दिए ।सचिवालय बैठकअघि २ अध्यक्षबीच बालुवाटारमा छुट्टै छलफल भएको थियो ।
शनिवारको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिए । आजको सचिवालय बैठकअघि पनि दुवै अध्यक्ष छलफलमा जुटे पनि सहमति भने निस्कन सकेको छैन ।
प्रधानमन्त्रीले बैठकमा पार्टी अध्यक्ष र प्रधानमन्त्री दुवै पद नछाड्ने स्पष्ट पारेका थिए । उनले महाधिवेशनसम्म पार्टी अध्यक्ष र आम चुनावअघि प्रधानमन्त्री नछाड्ने प्रस्ट पारेका हुन् ।
शनिबार दिउँसो चार घण्टा चलेको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई हटाउन लागिएको हो भने बैठकको कुनै औचित्य नभएको र आफूले यी दुवै पद नछाड्ने पुरानै अडान दोहोर्याएका थिए । उनले अहिलेको स्थायी कमिटि टिमको पनि कुनै काम नभएकाले टिम नै आवस्यक नभएको बताएका थिए ।
“खाली चाहिने नचाहिने आरोप लगाउने, विधि, पद्धति, प्रक्रियाको बैठक भन्दै जहिले पनि बहस मात्रै गरिरहनुभएको छ । तलतल पनि बहस लगिराख्नुभएको छ,” प्रधानमन्त्रीको भनाइ उद्धृत गर्दै एक सचिवालयका नेताले भने, “महाधिवेशन अघि पार्टी अध्यक्ष र आमचुनावअघि नै मलाई प्रधानमन्त्रीबाट हटाउन लागिएको हो भने बैठकको कुनै औचित्य छैन । म यी दुवै पद छाड्दिनँ ।”
उनले ठोस प्रस्ताव, कार्यसूची र तयारी पनि नभएकाले भोलिको स्थायी कमिटी बैठक रोक्नुपर्ने बताएका थिए । तर, अरू सचिवालय सदस्यहरूले रोक्न नहुने र सचिवालयमा पेस भएका सबै दस्तावेज छलफल गर्नुपर्ने बताएका थिए ।