ओलीले भने- गठबन्धनले धाँधली गर्‍यो, पुनः मतदान गरौँ - Himal Post Himal Post
  • २६ पुष २०८१, शुक्रबार
  •      Fri Jan 10 2025
Logo

ओलीले भने- गठबन्धनले धाँधली गर्‍यो, पुनः मतदान गरौँ



नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विभिन्न मतदान केन्द्रमा सत्ताको दुरुपयोग गरेर हिंसा भड्काउने काम भएको भन्दै फेरि मतदान गर्न माग गरेका छन् ।

स्थानीय तह निर्वाचनअन्तर्गत मतदानपछि शुक्रबार साँझ विज्ञप्ति जारी गर्दै अध्यक्ष ओलीले सत्तापक्षीय गठबन्धनले केही स्थानमा एमालेविरूद्ध अग्रिम नक्कली मतपत्रसमेत छापी वितरण गर्ने, उत्तेजनापूर्ण गतिविधि गरी अनावश्यक रूपमा वातावरण बिथोल्ने र अनुचित ढंगले हिंसा भड्काउने जस्ता कार्यसमेत गरेको आरोप लगाएका हुन्।

भयरहित र धाँधलीरहित वातावरणमा स्वच्छ, निष्पक्ष निर्वाचनका लागि आफ्नो सिंगो पार्टी र र समर्थकबाट लोकतान्त्रिक अधिकतम सकारात्मक भूमिका निर्वाह भएको दाबी गर्दै ओलीले तर लोकतन्त्र र अग्रगमनको नाम जपी अलोकतान्त्रिक र प्रतिगामी अभ्यासमा लिप्त रहने गठबन्धनबाट यसप्रकारको अधिनायकवादी कार्य भएको आरोप लगाएका हुन्।

हिंसा भएका स्थानमा गृह प्रशासन अस्वभाविक रूपमा असन्तुलित देखिएको ओलीको आरोप छ। बाजुराको बुढीगंगा नगरपालिकामा निर्वाचन जारी रहेकै बेला रहस्यमय ढंगले सुरक्षाकर्मीलाई हटाई निर्वाचन बिथोल्न खोजिएको, केही पालिकाका प्रमुखका उम्मेदवारहरूलाई मतदान केन्द्र निरीक्षणमा बाधा पुर्‍याइएको ओलीले आरोप लगाएका छन्।

‘प्रकृतिका घटना दर्जनौ स्थानमा भएका छन्। स्वतन्त्र निर्वाचनविरूद्ध भएका यस्ता घटनाको विरोध गर्दै सरकारको पूर्वाग्रही र पक्षपाती व्यवहारप्रति दुःख व्यक्त गर्दछु,’ ओलीले विज्ञप्तिमा उल्लेख गरेका छन्।

यी स्थानमा पुन: मतदान गर्न ओलीले निर्वाचन आयोगसँग माग गरेका छन्। ‘स्वच्छ निर्वाचन विपरितका घटना भएका, मतदान केन्द्रको अनधिकृत कब्जा गरिएका र भय त्रास सिर्जना गरी मतदाताहरूलाई आतंकित पारिएका स्थानमा पुनः मतदानको माग गरी विभिन्न जिल्लाबाट उजुरीसमेत गरिएको छ। यसलाई गम्भीरतापूर्वक लिन म निर्वाचन आयोगको ध्यानाकर्षण गराउँछु,’ विज्ञप्तिमा भनिएको छ।

ओलीले अप्ठ्याराका बाबजुद निर्वाचनलाई सम्पन्न गर्न निष्पक्ष भूमिका खेलेकोमा निर्वाचन आयोगको नेतृत्व र परिचालित सम्पूर्ण राष्ट्रसेवक कर्मचारी, सुरक्षाकर्मी तथा सम्बद्ध सबैलाई धन्यवाद दिएका छन्।

ओलीले मतदानमा सहभागी हुने आम मतदातालाई पनि धन्यवाद ज्ञापन गरेका छन्। ‘मतदान गरेलगत्तै निधन हुनुभएका र मतदानको लागि जाँदै गर्दा सवारी दुर्घटनाबाट ज्यान गुमाएका मतदाताहरूप्रति भावपूर्ण श्रद्धाञ्जलि व्यक्त गर्दछु र शोकाकूल परिवारजनमा गहिरो समवेदना व्यक्त गर्दछु,’ विज्ञप्तिमा भनिएको छ।