गठबन्धन तोडेर होइन, गठबन्धनसँगै लडेर हाम्रो बहुमत आउँछ: एमाले अध्यक्ष ओली
काठमाडौँ- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीले बहुमत प्राप्त गर्ने दाबी गरेका छन् ।
स्थानीय तहको निर्वाचनको तयारीबारे सातै प्रदेशमा हुन लागेको प्रशिक्षण कार्यक्रमको शुक्रबार भर्चुअल रूपमा शुभारम्भ गर्दै अध्यक्ष ओलीले पाँच दलीय गठबन्धन तोडेर नभई कायमै राखेर आफूहरूले निर्वाचन जित्ने दाबी गरेका हुन् ।
‘अहिलेको पाँच दलीय गठबन्धन तोडेर होइन, गठबन्धन कायमै राखेर हामीले निर्वाचन जित्छौँ,’ उनले भने । उनले स्थानीय तहको निर्वाचनमा मात्रै नभएर त्यसपछि हुने प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा पनि एमालेले बहुमत प्राप्त गर्ने बताए ।
अध्यक्ष ओलीले निर्वाचनबाट कसैलाई भाग्न नदिने पनि चेतावनी दिए । ‘भाग्ने उम्किने ठाउँ छ भने खोजे हुन्छ,’ ओलीले भने, ‘हामी निर्वाचनबाट कसैलाई भाग्न पनि दिँदैनौं ।’
ओलीले बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जित्ने कल्पना नगर्न पनि चेतावनी दिए । ‘ हिजो केही मान्छेले बत्ती निभाएर र मतपत्र च्यातेर चुनाव जितेका थिए,’ उनले भने, ‘हिजोजस्तै बत्ती निभाएर र मतपत्र च्यातेर जित्ने कल्पना अब नगरे पनि हुन्छ । ‘