ओलीले भने: सर्वोच्च अदालतको विरोधमा एमालेले सशक्त आन्दोलन गर्नुपर्छ
काठमाडौं- प्रधानमन्त्री केपी ओलीले सर्वोच्च अदालतको फैसलाविरुद्ध पार्टीले देशव्यापी आन्दोलन गर्ने बताएका छन् । उनले सर्वोच्च अदालतको फैसला लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था र शक्ति पृथकीकरणको बर्खिलापमा आएकाले पार्टी सशक्त आन्दोलनमा जानुपर्ने बताएका हुन् ।
फैसलापछि बालुवाटारमा निकट स्थायी समिति सदस्यहरूको अनौपचारिक बैठकमा प्रधानमन्त्री ओलीले त्यस्तो बताएका हुन् । प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसला अहिलेको संसदीय प्रणाली, नेपालको संविधान, लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाकै मूल मर्म र आधारभूत सिद्धान्तको बर्खिलापमा आएकाले त्यसका विरुद्ध सशक्त ढंगले आन्दोलन गरेर जानुपर्छ भन्ने दृष्टिकोण राखेको एक नेताले बताए ।
बैठकमा उपाध्यक्ष भीम रावलले पार्टीद्वारा गठित कार्यदलले अगाडि सारेको १०बुँदे सहमतिको प्रस्तावको औचित्यमाथि प्रकाश पारेका थिए । उनले प्रतिवेदन प्रधानमन्त्री ओलीलाई हस्तान्तरण गरेका छन् । माधव नेपालसहितको सहभागितामा मंगलबार दिउँसो १ बजे स्थायी समितिको औपचारिक बैठक बस्ने पनि गुरुङले जानकारी दिए ।