पार्टी अध्यक्ष छोड्न तयार छु, तर मेरो शर्त छ: प्रधानमन्त्री ओली
काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपाको अध्यक्ष छोड्न तयार रहेको बताएका छन् । आफू निकटका सुदूरपश्चिम प्रदेशका कार्यकर्ताहरूको भेलामा बुधबार ओलीले यस्तो बताएका हुन् ।
प्रधानमन्त्री ओलीले केहि शर्त राखेर अध्यक्ष छाड्न तयार रहेको बताए । उनले पार्टी अध्यक्ष चुनावबाट बनाउन सहमत हुनेहो भने आफू छाड्न तयार रहेको बताएका हुन् । पार्टीभित्र आफू जहिले पनि निर्वाचित भएर आएको हुनाले फेरी अध्यक्षको निर्वाचन गराए आफू छाड्न तयार भएको बताए ।
उनले अध्यक्षका लागि चुनाव गर्न पुष्पकमल दाहाल र माधवकुमार नेपालमा हिम्मात नभएको समेत आरोप लगाए ।
‘उहाँहरू चुनावमा आउन तयार हुनुहुन्न । उहाँहरू अध्यक्ष मागिरहनुभएको छ । अध्यक्ष छोडिदिने हो, ठीक छ । आउनुस् न त चुनाव गरौं । म छोडिदिन्छु, चुनाव गरौं । चुनाव गर्न आँट गर्नुहुन्न,’ ओलीले भने ।
अध्यक्ष दाहाल पार्टीभित्र कहिल्यै पनि चुनाव नगरी नेतृत्वमा रहेको भन्दै ओलीले आफू जहिल्यै प्रतिस्पर्धाबाट पार्टीको नेता भएको बताए । उनले आफू स्वास्थ्य स्थिति कठीन भएको बेलासमेत अध्यक्षमा लडेर निर्वाचित भएको भन्दै प्रतिस्पर्धाबाट नेतृत्वमा जाने भए आफू तयार रहेको बताए ।