देउवाले भने ओली सरकारले काम भन्दा कुरा बढी गर्यो - Himal Post Himal Post
  • १३ माघ २०८२, सोमबार
  •      Mon Jan 26 2026
Logo

देउवाले भने ओली सरकारले काम भन्दा कुरा बढी गर्यो



वालिङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी एकताको सन्देश देशैभरि पुर्‍याउनुपर्ने बताएका छन् । स्वतन्त्रता सेनानी एवम् जिविस स्याङ्जाका पूर्वसभापति स्व शिवकुमार अधिकारीको सम्झानामा शुक्रबार यहाँ आयोजित श्रद्धाञ्जलि सभामा उनले भने, “लोकतन्त्र, विकास र समृद्धिका लागि कांग्रेस एकतावद्ध भएर अगाडि बढेको सन्देश देशैभरि पुर्‍याउनुपर्छ ।”

सभापति देउवाले लोकतान्त्रिक आन्दोलनमा स्याङ्जाले देखाएको उदाहरण नमूनायोग्य भएको चर्चा गर्दै पुनः सोही खालको सङ्गठन देशैभर विस्तार गर्नुपर्नेमा जोड दिए ।

“नेपालको हरेक लोकतान्त्रिक आन्दोलनमा स्व अधिकारीले सक्रिय भूमिका खेल्नुभएको थियो,” उनले भने, “अधिकारीको निधनले एक कुशल सङ्गठनकर्ता गुमाउँदा पार्टीलाई अपूरणीय क्षति भएको छ ।”

पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका सभापति देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले कामभन्दा बढी कुरा गरेको बताउँदै दुई तिहाइको वर्तमान सरकार विकृति र अनियमिततातर्फ उन्मुख हुँदै गएको आरोप लगाए ।

बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारा अहिलेसम्म पत्ता लगाउन नसक्नु दुःखद भएको उनले बताए ।

कांग्रेस महासमिति सदस्य, जिल्ला कार्य समितिका सचिव तथा प्रजातन्त्र प्राप्तिपछिको पहिलो जिविस सभापति भएर राजनीतिमा सक्रिय रहनुभएका अधिकारीको गत पुस १० गते निधन भएको थियो ।