झनै संकटमा प्रधानमन्त्री: कांग्रेस र सभामुखले गरे बहिस्कार
काठमाडौँ- आगामी आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्को बैठक नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बहिस्कार गरेका छन् ।
सभापति देउवाले शनिबार विज्ञप्ति जारी गर्दै बैठकमा बहिस्कार गरेको र अरूलाई पनि बैठक बहिस्कार गर्न आग्रह गरेका छन् ।
यसअघि सभामुख अग्निप्रसाद सापकोटाको सचिवालयले बैठकमा नजाने जनाइसकेको छ । पहिले पनि प्रधानमन्त्री ओलीले बोलाएको संवैधानिक परिषदको बैठकमा सभापति देउवा र सभामुख सापकोटा नजाँदा विवाद उत्पन्न बहेको थियो ।
‘कांग्रेस संविधानको मूल मर्ममा प्रहार गरी संवैधानिक संरचनालाई नै भत्काउने गरी अध्यादेश जारी गरेको अवस्थामा संवैधानिक परिषद्को बैठकमा प्रमुख प्रतिपक्ष दलको नेताको हैसियतले भाग नलिने स्पष्ट गर्न चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।
प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्मा सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रधानन्यायाधीश र प्रमुख प्रतिपक्षी दलको नेताहरू सहभागी हुने व्यवस्था छ । संवैधानिक आयोगमा नियुक्तिको सिफारिस गर्दा सहमतिको कानूनी व्यवस्था छ।