नयाँ मोडमा नेकपा विवाद: पार्टीकै निर्णयले प्रधानमन्त्री ओली संकटमा - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

नयाँ मोडमा नेकपा विवाद: पार्टीकै निर्णयले प्रधानमन्त्री ओली संकटमा



काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित नगर्ने हो भने प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संकटको अवस्था देखिएको छ । यसअघि फागुनमै पार्टीको सचिवालय बैठकले गौतमलाई राष्ट्रियसभामा लैजान निर्णय गरेको थियो । तर प्रधानमन्त्री ओलीले यो निर्णय उल्ट्याएका थिए ।

उत्कर्षमा पुगेको विवाद मथ्थर भएको अनुमान गरिएकै बेला नेकपाभित्र प्रधानमन्त्री ओली निकै दबाबमा देखिएका छन् । गौतमकै ६ बुँदे प्रस्तावले मथ्थर भएको नेकपा विवाद गौतमले नै पार्टीको निर्णय कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई प्रस्ताव गरेपछि फरक मोड आएको छ ।

अर्थमन्त्री डा. युवराज खतिवडाको राष्ट्रियसभाको कार्यकाल गत फागुनमा सकिएको थियो । राष्ट्रियसभाको कार्यकाल सकिएको ६ महिनासम्म मन्त्री बन्न पाउने संवैधानिक व्यवस्था छ ।

खतिवडाको कार्यकाल भदौ २० गते सकिँदैछ । खतिवडाको ठाउँमा पूर्वगृहमन्त्रीसमेत रहेका उपाध्यक्ष गौतमलाई लाने तयारी भएको छ । नेकपाका अध्यक्ष प्रचण्डसहित बहुसंख्यक नेताहरुले खतिवडालाई उक्त जिम्मेवारी नदिन प्रधानमन्त्री ओलीलाई चेतावनी दिइसकेका छन् ।

उनिहरुले यसअघि गरेको पार्टीको निर्णय नै कार्यान्वयन गर्न प्रधानमन्त्रीलाई सुझाव दिएका छन् । नेता गौतमले समेत सोमबार प्रधानमन्त्री ओलीलाई भेटेर आफुलाई राष्ट्रियसभामा लिने पार्टीको निर्णय कार्यान्वयन गर्न आग्रह गरेका छन् । उनले आफु प्रतिनिधीसभामा उम्मेदवार नबन्ने समेत प्रधानमन्त्रीई स्पष्ट पारिसकेका छन् ।

नेकपाका स्थायी कमिटी सदस्य जनार्दन शर्माले खतिवडाको ठाउँमा गौतमलाई लैजाने खुलासा गरेका छन् । उनले गौतमलाई राष्ट्रियसभामा लगेर मन्त्री बनाउने तयारी भएको बताएका हुन् । पूर्वगृहमन्त्रीसमेत रहेका शर्माले गत असार १८ गते बसेको स्थायी कमिटी बैठकको निर्णय कार्यान्वयन हुने दाबी गरे ।

गौतम पार्टीको घोषणापत्र लेख्ने मुख्य मान्छे भएको भन्दै नेता शर्माले उनलाई सरकारमा लैजानुपर्ने बताएका छन् । ‘वामदेवजीले अर्थमन्त्रालयको नेतृत्व गर्नुभयो भने सरकारको काम थप प्रभावकारी हुन्छ’, शर्माले भनेका छन् ।

अर्थमन्त्री खतिवडाले अमेरिकी मिलिनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) कार्यान्वयन गर्न महत्वपूर्ण भूमिका खेलेको भन्दै नेताहरुले असन्तुष्टी जनाइरहेका छन् । नेकपाका शीर्ष नेताहरुले नै खतिवडाको उक्त कदमलाई राष्ट्रघाती भनेका छन् । नेकपा नेता भीम रावलले अर्थमन्त्रीले राष्ट्रघाती कदम चालेको बताएका छन् । उनले राष्ट्रघाती कदम गनै खतिवडालाई प्रधानमन्त्री ओलीले संरक्षण गरेको आरोप लगाएका छन् ।

उनले भने, ‘यति ठूलो राष्ट्रघात गर्दा पनि केही मान्छेहरूले उहाँको संरक्षण गरिरहेका छन् । नेपालबाहेक अरु देशमा हुन्थ्यो भने अर्थमन्त्री खतिवडालाई राज्यद्रोहको मुद्दा लाग्थ्यो ।’त्यस्तै नेता रावलले नेकपा कार्यदलले एमसीसी सम्झौताका बारेमा प्रतिवेदन बुझाइसकेको बताए । उनले संशोधन बिनाको एमसीसी सम्झौता पारित नहुने बताए ।

‘हामीले सिफारिस गरेका प्रावधानमा संशोधन भए मात्र यो लागू हुनसक्छ । सम्बन्धित पक्ष संशोधन गर्न तयार नभए यो स्वतः खारेज हुन्छ, खारेज गराउँछौं,’ उनले भने ।

लामो समयदेखि पार्टीभित्र त्याग गरेका नेताहरुलाई मन्त्री बनाउनुपर्ने नेकपा नेताहरुको माग छ । उनीहरुले आगन्तुक मन्त्रीले जनचाहनाअनुरुप काम गर्न नसक्ने भन्दै गौतमलाई राष्ट्रियसभामा लैजानुपर्ने बताएका छन् ।

नेकपाका एक नेताले खतिवडालाई ‘आउट’ गरेर पार्टीभित्रका नेतालार्ई नै प्रधानमन्त्रीले स्थान दिनुपर्ने बताए । तर, ती नेताले प्रधानमन्त्री अ‍ोली अहिलेको अवस्थामा खतिवडालाई नै दोहोर्याउने मनस्थितिमा रहेको स्वीकार गरे ।

‘वामदेवजीले पार्टीमा महत्वपूर्ण योगदान गर्नुभएको छ । हामी नेताहरुले उहाँलाई राष्ट्रियसभामा लैजानुपर्ने माग गरेका छौं’, ती नेताले भने, ‘तर, प्रधानमन्त्रीजी खतिवडालाई नै दोहोर्याउने अडानमा हुनुहुन्छ । खतिवडाजीले जनभावनाअनुसार काम गर्न सक्नुभएको छैन् ।’

शनिबार एक टेलिभिजनमा अन्तार्वार्ता दिँदै प्रधानमन्त्री ओलीले उपाध्यक्ष गौतमलाई प्रतिनिधिसभा र राष्ट्रियसभामा लैजाने विषय पहिल्यै उठिसकेकाले यसलाई पुनः बल्झाउन उर्पयुक्त नहुने बताएका थिए ।
उनले भनेका थिए, ‘उहाँलाई प्रतिनिधि सभाको चुनाव लडाउने भनेपछि त्यो निर्णय समाप्त भयो । उहाँ त्यसरी राष्ट्रिय सभामा नजाने भनेपछि त्यो निर्णय समाप्त भयो ।’

त्यस्तै प्रधानमन्त्रीले अर्थमन्त्री खतिवडाको कार्यकालभरी काम पनि आग्रह गरेका छन् । उनले अहिले नै भविष्यवाणी गर्न नहुने बताएका थिए । ‘दुईचार दिन हेरौं न, २० गते त आउन लागिहाल्यो । दुईचार दिन हेरौं । अहिले भविष्यवाणी गर्नु त्यति उचित हुँदैन । यदि मेरो नजरमा डा. युवराज खतिवडाभन्दा अर्को अर्थमन्त्रीले राम्रो गर्ला कि त भन्ने अपेक्षा भयो भने उसलाई जिम्मा दिन पनि सकिन्छ । डा.युवराज खतिवडाबाट राम्रो हुन्छ भन्ने लागेमा त्यसो पनि हुन सक्छ’, उनले भनेका थिए ।