युवा संगठनहरुले लगाए प्रधानमन्त्री ओलीमाथि संगिन आरोप - Himal Post Himal Post
  • १७ माघ २०८१, बिहीबार
  •      Thu Jan 30 2025
Logo

युवा संगठनहरुले लगाए प्रधानमन्त्री ओलीमाथि संगिन आरोप



काठमाडौँ– विभिन्न राजनीतिक दलका युवा संगठनहरुले प्रधानमन्त्री केपी शर्मा ओलीमाथि संगिन आरोप लगाएका छन् । उनीहरूले संसद विघटनको भर्त्सना गर्दै ओलीले नेपाललाई सिक्किमीकरण गर्न खोजेको गम्भीर आरोप लगाएका छन् ।

नेपाल तरुण दलका अध्यक्ष जितजङ्ग बस्नेत, योग कम्युनिष्ट लिग (वाइसीएल)का अध्यक्ष रामप्रसाद सापकोटा ‘दीपशिखा’, युवा संघ नेपालका अध्यक्ष नरेशकुमार शाही, समाजवादी युवा संघ नेपालका अध्यक्ष योगेन्द्र राय यादव, अखिल नेपाल युवक संघका अध्यक्ष अनिल किशोर घिमिरे र विवेकशिल साझा युवा संगठनका अध्यक्ष अब्दुस मियाँले संयुक्त विज्ञप्ति जारी गरेर प्रधानमन्त्री केपी शर्मा ‌ओलीले गरेको संसद विघटन र राष्ट्रपतिले गरेको अनुमोदनको भर्त्सना गर्दै नेपाललाई सिक्किमिकरणको दिशामा लैजान खोजिएको बताएका छन्।

‘संघीय लोकतान्त्रिक गणतन्त्रप्रति सुरुदेखि नै पूर्वाग्रह राख्ने ओलीले संवैधानिक संकट निम्त्याउने आफ्नो प्रयत्नलाई एक कदम अगाडि बढाएका छन्। यो उनको २०७७ पुष ५ को असफल संसद विघटनको निरन्तरता मात्र हो। ओली वास्तवमा नेपाललाई संवैधानिक संकटको व्यवस्था सिर्जना गर्दै सिक्किमिकरणको दिशामा लान उद्यत छन्। विदेशी शक्तिकेन्द्रहरुको इच्छाअनुसार नेपालमा अस्थिरता सिर्जना गर्ने योजना अनुसार यस्तो कदम चालिएको हो भन्नेमा कुनै शंका छैन। दुःखको कुरा देशको सर्वोच्च सम्माननीय संस्थाले समेत ओलीका असंवैधानिक कदमलाई रबरस्ट्याम्पको रुपमा मतियारी दिँदै आएको छ,’ संयुक्त विज्ञप्तिमा भनिएको छ।

पटक–पटक संविधानको हत्या गर्ने राष्ट्रपति भण्डारीलाई कानुनी कठघरामा उभ्याउन उनीहरुले राजनीतिक दलहरुसँग मागसमेत गरेका छन्।

‘संसद विघटनमार्फत संवैधानिक संकट निम्त्याउने ओलीको यस कदमको हामीहरु घोर भर्त्सना गर्न चाहन्छौँ। सबै मिलेर कोभिड–१९ ले निम्त्याउने संकटको निवारण गर्ने समयमा चुनावको नाटक गर्दै चालिएको असंवैधानिक कदमको हामी निन्दा गर्दछौँ। साथै राजनीतिक दलहरुलाई पटक–पटक संविधानको हत्या गर्ने राष्ट्रपति विद्यादेवी भण्डारीलाई यथाशीघ्र कानुनी कठघरामा उभ्याउन माग गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ।

साथै उनीहरुले प्रधानमन्त्री ओलीले चाल्ने हरेक गैरसंवैधानिक र राष्ट्रघाति कदमको डटेर सामना गर्न पनि युवाहरुलाई आह्वान गरेका छन्।