फैसला अनुकुल नआउने भएपछि ओलीले थाले आन्दोलनको तयारी - Himal Post Himal Post
  • २६ बैशाख २०८१, बुधबार
  •      Wed May 8 2024
Logo

फैसला अनुकुल नआउने भएपछि ओलीले थाले आन्दोलनको तयारी



काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसद पुनर्स्थापना हुने र कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्ने पक्का भएको आंकलन गरेका छन् । उनले पार्टी केन्द्रीय कमिटीमा गरेको संकेत र निकट नेताहरूलाई गरेको ब्रिफिङले उनले यस्तो आंकलन गरेको प्रष्ट हुन्छ ।

प्रधानमन्त्री ओलीले केहि निकट नेताहरूलाई सर्वोच्च अदालतको संकेत संकेत राम्रो नदेखिएको बताएका थिए । उनले केन्द्रीय कमिटिको बैठक अगाडी केहि नेताहरूलाई आन्दोलन गर्नुपर्ने देखिन्छ भन्दै सबै विकल्पको तयारी गर्न भनेका थिए । स्रोतका अनुसार एमालेको केन्द्रीय कमिटी बैठक र वरिष्ठ नेता माधव नेपाल समूहमाथि बढाईएको दवाव पनि यहि कारणले थियो।

कह समयदेखि चुपचाप देखिएका ओली अहिले भने सार्वजनिक रूपमै एमालेको अर्को समूहमाथि खनिन थालेका छन् भने विपक्षी गठबन्धन नै अलोकतान्त्रिक भएको टिप्पणी गर्न थालेका छन् । उनले सर्वोच्च अदालतको सम्भावित फैसलाको आंकलन गरिसकेकोले आक्रामक रूपमा उत्रिएको स्रोत्तको दाबी छ । पार्टी एकताको बिषय ओझेलमा पर्नेगरी हस्ताक्षरमै केन्द्रित भएर नेपाल समूहमाथि दवाव बनाउनुको कारण पनि सर्वोच्चको सम्भावित फैसला नै देखिन्छ ।

त्यस्तै ओलीले केन्द्रीय कमिटी बैठकमै पनि आनदोलनको लागि तयारी अवस्थामा रहन नेता तथा कार्यकर्तालाई निर्देशन दिएका छन् । शनिबार बालुवाटारमा बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै अध्यक्ष ओलीले एमाले सिद्याउन पार्टी कै नेताहरु मोर्चा बनाएर लागेकाले तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् ।

‘पार्टी र सरकार विरुद्ध मोर्चा बनाएरै लागेका छन्, पार्टीकै नेताहरु लाग्नुभएको छ । त्यसैले सिटी फुक्ने वित्तिकै आन्दोलनमा दौडि हाल्नुपर्छ तपाइँहरु । तयारी अवस्थामा बस्नुस्,’ उनले भनेका थिए ।

प्रधानमन्त्री ओलीले सर्वोच्चको फैसला आएको भोलिपल्ट केन्द्रीय कमिटीको बैठक बस्ने र त्यसले पार्टी जीवनमा असाधरण निर्णय लिने समेत जानकारी गराएका छन् । एमालेको माधवकुमार नेपाल समूहले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने माग गर्दै सर्वोच्च अदालतमा दायर गरेको मुदाको सुनुवाई जारी छ ।