एमाले ओली समूहले भन्यो: माधव नेपाल समूह एमाले होइनन्
काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपाल समुहलाई अध्यक्ष ओली समूहले अवैधानिक र अनाधिकृत भनेको छ । ओली समुहले उक्त समुहको गतिविधिमा संलग्न नहुन आग्रह गर्दै उनीहरू एमाले नभएको बताएको छ ।
नेपाल समूहले बोलाएको केन्द्रीय कमिटी बैठकलाई ओली समूहले अनाधिकृत भनेको छ । एमाले कार्यालय सचिव शेरबहादुर तामाङले एक विज्ञप्ति जारी गर्दै यो बैठक अनाधिकृत भएको बताएका छन् ।
उनले जारी गरेको विज्ञप्तिमा २१ साउनमा एमाले केन्द्रीय कमिटीको कुनै बैठक आयोजना नगरिएको सबैलाई जानकारी गराउँछु भन्ने उल्लेख गरिएको छ ।
उनले पार्टी विधान विपरित यो बैठक बोलाएको भन्दै यस्ता गतिविधिमा नलाग्न पनि पार्टी कार्यकर्ताहरुलाई अपिल गरेका छन् ।
यसअघि आजका लागि बोलाइएको नेपाल समूहको बैठक केही सदस्य काठमाडौं बाहिर भएकाले स्थगित गरिएको थियो । नेपाल समूहले आज स्थगित गरेको बैठक बिहीबारलाई बोलाएको छ ।
पछिल्लो समय नेकपा एमालेमा देखिएको विवाद मिलाउने हेतुले दोस्रो तहका नेताहरु विवाद समाधान गर्न अध्यक्ष ओली र वरिष्ठ नेता माधवकुमार नेपाललाई भेटाउने प्रयासमा छन् । तर, उनीहरुबीच हुने भेट निश्चित भइसकेको छैन ।