'ओली राजनेता हुन्, छिट्टै फर्केर आउँछन्' - Himal Post Himal Post
  • १ फाल्गुन २०८२, शुक्रबार
  •      Fri Feb 13 2026
Logo

‘ओली राजनेता हुन्, छिट्टै फर्केर आउँछन्’



काठमाडौं- नेकपा (एमाले)का राष्ट्रियसभा सदस्य खिमलाल भट्टराईले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई राजनेता भन्दै पुन: सत्तामा फर्केर आउने बताएका छन्।

राष्ट्रियसभाको मंगलबारको बैठकमा बोल्दै नेता भट्टराईले भने, ‘राजनेता भनेको के हो? भन्ने लाग्न सक्छ। राजनेता जसको वरिपरि राजनीति घुमिरहेको हुन्छ। केपी ओली बालुवाटार छाडेर बालकोट जाँदासमेत सत्तापक्षका सांसदले विरोधमा उहाँको चर्चा गर्नुहुन्छ।’

सडक, सदन र सरकारमा केपी ओलीकै चर्चा भएकाले राजनेता फेरि फर्केर आउने दाबी उनले गरे। झ्यालबाट आएको सरकार गठन भएको एक महिना बितिसक्दा समेत मन्त्रीपरिषद् विस्तार गर्न नसकेकोप्रति उनले आलोचना गरे।

भट्टराईले भने, ‘सरकार बन्न सकेको छैन। त्यसमा पनि केपी ओली फोबिया छ कि भन्ने लाग्छ। आशा गरिएको सरकार हटाएर झ्यालबाट आएको सरकारले अपेक्षा गर्ने ठाउँ छैन।’

सरकारमा गएपछि कांग्रेसको हाइट घटेको दाबी गरे। कांग्रेस आदर्शको हिसाबले च्युत भइरहेको उनले जिकिर गरे। सरकारले कालापानी, लिपुलेक र लिम्पियाधुरा आफ्नो भन्नुको सट्टा समस्या भनेको उनको आरोप थियो। सीमामा नेपाली मारिँदा समेत सरकारले बोल्न नसकेको उनको टिप्पणी छ।

सरकारले भूमि सम्बन्धी समस्या समाधान आयोग खारेज गर्दा सुकुमबासी समस्या समाधान नहुने उनको दाबी छ।

यस्तै, माओवादी केन्द्र पनि आफ्नो तागतमा उभिन नसक्ने उनले बताए। आफूलाई सवल बन्न नसकेर कहिले एमाले त कहिले कांग्रेसको पछि लाग्न बाध्य भएको उनको आरोप छ।