ओलीले पनि भारतीय प्रधानमन्त्रीलाई दाम चढाए !
काठमाडौं —नेपाल मजदूर किसान पार्टी (नेमकिपा)ले प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा भारतीय दूतावासबाट भइरहेको हस्तक्षेप रोक्न नसकेको आरोप लगाएको छ ।
आफ्नो पहिलो विदेश भ्रमण भारतमै गरी भारतीय प्रधानमन्त्रीकहाँ ‘दाम राख्ने’ परम्परालाई ओलीले निरन्तरता दिनु खेदजनक भएको नेमकिपाको ठहर छ ।
साउन १८ देखि २० गतेसम्म चलेको नेमकिपाको २९औं केन्द्रीय परिषद् बैठकले ओली सरकारले जनताको हितअनुसार काम गर्न नसकेको निष्कर्ष निकालेको हो ।
‘प्रधानमन्त्री ओलीले नेपालको जिल्लास्तरको प्रशासनहरूमा समेत भारतीय दूतावासबाट भइरहेको हस्तक्षेप रोक्न नसकेको र आफ्नो पहिलो विदेश भ्रमण भारतमै गरी भारतीय प्रधानमन्त्रीकहा“ ‘दाम राख्ने’ परम्परालाई चालू राखेकोप्रति यो परिषद् खेद प्रकट गर्दछ,’ बैठकद्वारा पारित १७ बुँदे प्रस्तावको ८औं नम्बरमा भनिएको छ ।
नेमकिपाले संविधान संशोधन गराउन र नेपालको प्राकृतिक स्रोत–साधन भारतीय कब्जामा राख्न भारतीय शासक बर्गले एमाले र माओवादी (केन्द्र) को सिद्धान्तहीन एकता गराएको समेत आरोप लगाएको छ ।
नेमकिपाले ओली सरकारले भ्रष्टाचार र महङ्गी नियन्त्रण नगरेको, निर्माण कार्यका ठेकेदारहरूलाई समयमा नै गुणस्तरीय काम सम्पन्न नगराएको, सुन तस्करीका ठूला माछा पक्राउ नगरेको तथा कालाबजारियाहरूलाई कारवाही नगरेको भन्दै ओली सरकारप्रति खेद प्रकट गरेको सचिव प्रेम सुवालले जानकारी दिए ।
नेमकिपाले नेपाल–भारतबीच सन् १९५० को सन्धिलगायत सम्पूर्ण असमान सन्धि–सम्झौताहरू खारेज गर्नुपर्ने विषयलाई नेपाल–भारत प्रबुद्ध समूहले समेट्न नसकेकोमा पनि विरोध गरेको छ ।
परिषद् बैठकलाई सम्बोधन गर्दै नेमकिपा अध्यक्ष नारायणमान बिजुक्छे रोहितले चुनावपछि देशको स्थितिले संघीयता नेपालका लागि श्राप बन्दै गएको बताएका थिए ।