आज काठमाडौंमा युवा संघको शक्ति प्रदर्शन: प्रधानमन्त्री ओलीले सम्वोधन गर्ने
काठमाडौं– प्रधानमन्त्री केपी ओली समुहको युवा संघले आज शनिबार काठमाडौंमा शक्ति प्रदर्शन गर्दै छ ।
युवा संघको बागमती प्रदेश कमिटीले काठमाडौंका विभिन्न स्थानबाट र्याली गर्दै मध्यान्ह १२ बजे प्रज्ञा भवनमा भेला गर्न लागेको हो।
बिहान ११ बजे सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, भक्तपुर र काठमाडौं निर्वाचन क्षेत्र १ देखि ४ सम्मका कार्यकर्ता नयाँ बानेश्वरमा भेला भई र्याली गर्नेछन् भने मकवानपुर, चितवन, धादिङ र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ८ देखि १० सम्मका कार्यकर्ताहरुको र्याली बिहान साढे ११ बजे सुन्धाराबाट सुरु हुनेछ।
यस्तै, रसुवा, नुवाकोट र काठमाडौं निर्वाचन क्षेत्र नम्बर ५, ६ र ७ का नेता–कार्यकर्ताहरुको र्याली बिहान साढे ११ बजे लैनचौरबाट सुरु भई जमलको मूल र्यालीमा जोडिनेछ । ललितपुर निर्वाचन क्षेत्र नम्बर १, २ र ३ को र्याली बिहान ११ बजे पुलचोकबाट सुरु भई माइतीघर मण्डलाको मूलर्यालीमा जोडिने जनाइएको छ।
युवा संघको भेलालाई प्रधानमन्त्री केपी ओलीले सम्बोधन गर्दैछन्।