नेताहरूले पेलेपछि बैठकमा रक्षात्मक बने प्रधानमन्त्री ओली - Himal Post Himal Post
  • ३० माघ २०८१, बुधबार
  •      Wed Feb 12 2025
Logo

नेताहरूले पेलेपछि बैठकमा रक्षात्मक बने प्रधानमन्त्री ओली



काठमाडौं- प्रधानमन्त्री निवास बालुवाटारमा शनिवार ३ घण्टा बसेको नेकपा सचिवालय बैठकले पार्टीमा देखिएका विवादको निरुपणका लागि सबै प्रस्तावहरू स्थायी कमिटीमा लैजाने निर्णय गरेको छ।

बैठकपछि संचारकर्मीसंग कुरा गर्दै प्रवक्ता नारायणकाजी श्रेष्ठले यस्तो जानकारी दिएका हुन् । स्थायी कमिटीको बैठक भोलि आइतवार दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने श्रेष्ठले जानकारी दिए ।

सचिवालय बैठकअघि २ अध्यक्षबीच बालुवाटारमा छुट्टै छलफल भएको थियो । शनिवारको बैठकमा प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली उपस्थित भएका थिए । आजको सचिवालय बैठकअघि पनि दुवै अध्यक्ष छलफलमा जुटे पनि सहमति भने निस्कन सकेको छैन ।

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार भोली आइतबार बस्ने स्थायी समिति बैठकदेखि नै सबै प्रस्तावहरुमाथि छलफल सुरु हुन्छ भने त्यहिबीच आपसी परामर्श र छलफल पनि जारी रहनेछ।

‘दुवै अध्यक्षहरुबीच पनि छलफल परामर्श चल्नेछ र नेताहरुबीच पनि औपचारिक अनौपचारिक छलफल तथा संवाद जारी रहनेछ,’ श्रेष्ठले भने।

एक सचिवालय सदस्यका अनुसार प्रधानमन्त्री ओली आजको बैठकमा रक्षात्मक बनेका थिए । उनले स्थायी कमिटि बैठक रोक्न निकै जोडबल गरेका थिए । तर नेताहरूले पेलेरै निर्णय गराएका थिए । अर्का एक सचिवालय सदस्यका अनुसार अध्यक्ष ओलीले भने शनिबारको बैठकमा पनि सकेसम्म स्थायी समितिमा ती प्रस्तावहरु लग्नु नपर्ने धारणा नै राखेका थिए।

‘अध्यक्ष ओलीले आज तल्ला कमिटीमा विवाद लैजान नहुने भन्दै प्रस्ताव नलगौं नै भन्नुभएको थियो, तर कमिटीका बैठकहरु पनि गर्ने र त्यहिबीच औपचारिक तथा अनौपचारिक छलफल, परामर्श र अन्य आवश्यक गृहकार्य पनि साथसाथै गर्ने निर्णय भएको छ,’ सचिवालयका ती नेताले बैठकपछि भने।

अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, वरिष्ठ नेता झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, प्रवक्ता नारायणकाजी श्रेष्ठले अडान लिएपछि स्थायी कमिटी बैठक राख्ने निर्णय भएको एक सचिवालय सदस्यले जानकारी दिए ।