रवीन्द्रलाई आधा घण्टा र छोरालाई काख

काठमाडौं -प्रधानमन्त्री केपी शर्मा ओलीले छुद्र मानसिकता भएका मान्छेहरुले वाइडबडीमा दिवंगत मन्त्री रवीन्द्र अधिकारीको नाम जोडेर बदनाम गराउँन खोजेको आरोप लगाएका छन् । शनिबार, रवीन्द्र स्मृति प्रतिष्ठानको पोखरामा उद्घाटन गर्दै उनले यस्तो बताएका हुन् ।
वाइडबडी काण्ड दिवंगत रवीन्द्र अधिकारी मन्त्री हुनअघि नै सुरुआत भएको उनको भनाई थियो । ‘वाइडबडीमा भ्रष्टाचार त उहाँ मन्त्री हुनुभन्दा पहिले देखि सुरु भएको हो । उहाँलाई बदनाम गर्ने काम मात्र भएको हो,’ दिवंगत मन्त्री अधिकारी वाइडबडी काण्डमा दोषी नभएको प्रष्ट्याउँदै उनले भने,‘मैले त्यस मामिलामा उहाँ निर्दोष हुनुहुन्छ भनेर भन्दा एकथरि छुद्र मति भएकाहरुलाई साह्रै पोलेछ । तर, उहाँ वास्तवमै निर्दोष हुनुहुन्छ ।’
केही भुइफुट्टा तत्व/संस्थाले अदालतले फैसला नगरेको कुरालाई प्रधानमन्त्रीले भन्न नपाउँने भन्दै गरेको विरोधलाई समेत प्रधानमन्त्री ओलीले कडा आलोचना गरे । अदालतले निर्णय नगरेका कुरामा दोषी छ भन्न पाइने । मनपरी भन्न पाइने । निर्दोष भन्न नपाइने को हुन् ति न्यायाधिश ?’ उनले भने ।
वक्तव्यको क्रममा प्रधानमन्त्री ओलीले पटकपटक दिवंगत मन्त्री निर्दोष भएको दोहो¥याएका थिए । करिब आधा घन्टासम्मको मन्तव्यमा उनले रवीन्द्र अधिकारीको प्रशंसा गरेका थिए ।
यसरी करीव आधा घण्टा रवीन्द्रको तारिफमा खर्चिएपछी प्रधानमन्त्री ओलीले रविन्द्रका छोरालाई काखमा राखेर भलाकुसारी गरेका थिए ।
दिवंगत मन्त्री अधिकारीको गत फागुन १५ गते हेलिकोप्टर दुर्घटनामा परि निधन भएको थियो ।

