प्रचण्ड भन्छन्: ओलीले ल्याएको र देउवाले ल्याएको अध्यादेशमा फरक हुन् - Himal Post Himal Post
  • २ फाल्गुन २०८२, शनिबार
  •      Sat Feb 14 2026
Logo

प्रचण्ड भन्छन्: ओलीले ल्याएको र देउवाले ल्याएको अध्यादेशमा फरक हुन्



काठमाडौं- नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहालले यसअघि केपी शर्मा ओलीले ल्याएको र अहिले शेरबहादुर देउवाले ल्याएको अध्यादेश उस्तै नभएको बताएका छन्।

बिहीबार समाजवादी केन्द्रले आयोजना गरेको ‘एक्काइसौं शताब्दीको मार्क्सवाद र समाजवाद’ विषयक कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले पहिले र अहिलेको अध्यादेशलाई एउटैमा राख्न नहुने जिकिर गरे। “एउटा अध्यादेशको उद्देश्य लोकतन्त्र सिध्याउनु, संविधान सिध्याउनु, गणतन्त्र सिध्याउनु थियो। अर्को अध्यादेशको उद्देश्य लोकतन्त्र, गणतन्त्र र संविधानको रक्षा गर्नु छ,” दाहालले भने, “यी दुवैमा आकाश–जमीनको फरक छ।

सबै अध्यादेश उस्तै भनेर आदर्शवादी कुरा गर्न नहुने उनको भनाइ थियो। दाहालले भने, “सबै अध्यादेश उस्तै हुन् भनेर बडो आदर्शवादी कुरा सुनिएको छ। लोकतन्त्र र संविधान सिध्याउने र रक्षा गर्ने अध्यादेश उस्तै होइनन्।”

कार्यक्रममा बोल्दै उनले छिटै मन्त्रिपरिषद् विस्तार हुने बताए। “हिजोबाट नयाँ परिस्थिति बनेको छ। आज बिहान मात्रै प्रधानमन्त्रीजी, माधवजी र म बसेका थियौं,” दाहालले भने, “नयाँ दर्ता भएको पार्टीको सनाखत हुने बितिक्कै एकै दिनमा मन्त्रिपरिषद् टुंग्याइदिनुपर्छ भन्ने समझदारी बनेको छ। जति छिटो नयाँ पार्टी दर्ताका लागि सनाखत हुन्छ, त्यति छिटो मन्त्रिपरिषद् विस्तार हुन्छ।”

कार्यक्रममा जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईले समाजवादको नयाँ मोडल खोज्नुपर्ने बताए। नयाँ पुस्तालाई बाटो देखाउने काम गर्नुपर्ने उनको भनाइ थियो।

कार्यक्रमकै अवसर पारेर वामदेव क्षेत्री (घिमिरे)द्वारा लिखित ‘कृषि र समाजवाद’ पुस्तकको विमोचन समेत गरिएको छ ।