ओली–प्रचण्डसँग रिसाएर हिँडे माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम - Himal Post Himal Post
  • १९ माघ २०८१, शनिबार
  •      Sat Feb 1 2025
Logo

ओली–प्रचण्डसँग रिसाएर हिँडे माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम



काठमाडौं–नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकमा सहभागि हुन गएका नेकपाका चार सचिवालय सदस्य बैठक सुरु नहुँदै बालुवाटारबाट हिँडेका छन् ।

शनिबार निर्धारित ३ बजेको लागि तय गरिएको सचिवालय बैठकमा सहभागि हुन बालुवाटार पुगेका वरिष्ठ नेता माधव कुमार नेपाल सहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र वामदेव गौतम बैठकमै सहभागि नभइकन हिँडेका हुन् । उनीहरु हिँडेसँगै नेकपाको सचिवाल बैठक नै प्रभावित बन्न पुगेको छ ।

वालुवाटार स्रोतका अनुसार निर्धारित समय ३ बजे नै चार जना नेताहरु बालुवाटार पुगेका थिए । तर, सोअघि नै बालुवाटार पुगेका नेकपा अध्यक्ष प्रचण्ड प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी अाेलीसँगै एक पूर्वसांसदसँगको छलफलमा जुटे ।

छलफल केही लम्बिएपछि नेपालसहितका नेताहरु करीब १५ मिनेटसम्म बाहिरको बाहिरै भए । १५ मिनेट कुर्दा पनि बैठक सुरु हुन नसकेपनि रिसाउँदै उनीहरु बालुवाटारबाट बाहिरिएका थिए ।

बालुवाटार स्रोतले भन्यो, ‘दुई अध्यक्ष क्यान्सर रोगबाट पीडित तत्कालीन माओवादी केन्द्रकी पूर्व सभासद तथा नेकपाकी नेतृ मणी खम्बुसँग भेटघाटमा हुनुहुन्थ्यो । छलफल चल्दै गर्दा उहाँहरु एकाएक हिँड्नु भएछ ।’

पार्टी एकीकरणका बाँकी कामको टुंगो लगाउने लगायत विषयमा छलफल गरेर टुंगो लगाउनका लागि भन्दै हिजोका लागि बोलाइएको बैठक नेताहरुको कार्यव्यस्तताको कारण देखाउँदै आजसम्मको लागि स्थगित भएको थियो । साेही बैठक आज पनि चार नेताहरु हिँडेपछि आजपनि भाँडिन पुग्यो ।

नेकपाको गत मंसिर १२ गते बसेको सचिवालय बैठकले सातै प्रदेश कमिटीका सदस्यको नामावली टुंगो लगाएको थियो ।

सो नामावलीमा नेपाललगायतको नेताहरुको असन्तुष्टि रहेको बताइँदै आएको छ।
कतिपयले यही असन्तुष्टि आज बालुवाटारमा पोखिएको टिप्पणी समेत गरेका छन् ।