प्रचण्डलाई हेर्दै ओलीले भने 'मिल्ने भएको भए दुई जनानै प्रधानमन्त्री हुन्थ्यौ' - Himal Post Himal Post
  • २३ फाल्गुन २०८१, शुक्रबार
  •      Fri Mar 7 2025
Logo

प्रचण्डलाई हेर्दै ओलीले भने ‘मिल्ने भएको भए दुई जनानै प्रधानमन्त्री हुन्थ्यौ’



काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा का दुई अध्यक्षबीच फाटो ल्याउन प्रतिक्रियावादीहरुले कोसिस गरिरहेको दाबी गरेका छन् ।

प्रधानमन्त्री ओलीले दुई अध्यक्षबीचको एकतालाई तोड्न जति प्रयास गरे पनि सफल नहुने स्पष्ट पारे । देशलाई समृद्ध बनाउन गरिएको दुई अध्यक्षबीचको एकता कसैले पनि तोड्न नसक्ने प्रधानमन्त्री ओलीको भनाइ थियो ।

प्रधानमन्त्री ओलीले असभ्य ढंगले प्रस्तुत हुने बुद्धिजीविहरुलाई आफूले सचेत गराउँदा पनि त्यसलाई अन्यथा प्रचार गरिएको भन्दै आपत्ति पनि जनाए ।

तत्कालीन एमाले र माओवादी केन्द्रका कानुन व्यवसायीहरुको संगठनलाई एकीकरण गर्न आइतबार पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा बोल्दै उनले मुलुक बनाउने संकल्पका साथ भएको दुई अध्यक्षबीचको एकता विश्वमै नमूना एकता भएको उल्लेख पनि गरे । छेउमै रहेका अर्का अध्यक्ष पुष्पकमल दाहाल  तिर फर्कँदै प्रधानमन्त्री ओलीले संविधानमा मिल्ने भएको भए दुई जनानै प्रधानमन्त्री हुने भन्दै ठट्टा पनि गरे ।

प्रधानमन्त्री ओलीले सरकारविरुद्ध भयानक प्रचार युद्ध भैरहेको दाबी पनि गरे । उनले राष्ट्रपति जस्तो गणतन्त्र नेपालको सम्मानित तथा मर्यादित संस्थालाई निरन्तर आक्रमण प्रयास भैरहेको भन्दै आक्रोश पनि व्यक्त गरे । प्रहरी तालिम केन्द्र ३ दशक अघि पनौती सार्ने निर्णय भए पनि त्यसलाई अघि सारेर गणतन्त्र विरोधीहरुले राष्ट्रपति जस्तो मर्यादित संस्थामाथि निरन्तर आक्रमण गरिरहेको प्रधानमन्त्री ओलीको दाबी छ । प्रधानमन्त्री ओलीले राष्ट्रपतिलाई विवादमा ल्याएर राजतन्त्र ल्याउने खोजिएको उल्लेख गर्दै सैह्य नहुने चेतावनी पनि दिए ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले मुलुकलाई समृद्ध बनाउने अभियानमा सकेको योगदान गर्न पार्टीका कानुन व्यवसायीहरुलाई आग्रह गरे । उनले कार्यपालिका, न्यायपालिका र व्यवस्थापिकाबीच हुने अपुगलाई पूर्णता दिन पार्टीका कानुन व्यवसायीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने विश्वास पनि व्यक्त गरे ।