ओली प्रचण्डले गफ गरे ,काम गरेनन् :नेता पौडेल - Himal Post Himal Post
  • १६ चैत्र २०८०, शुक्रबार
  •      Fri Mar 29 2024
Logo

ओली प्रचण्डले गफ गरे ,काम गरेनन् :नेता पौडेल



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले मुलुकको प्रगति र समृद्धिको लागि आदिवासी जनजातीहरुको ठूलो योगदान रहेको सुनाएका छन् ।

बिहीबार आदिवासी जनजाति महासंघले २४ औं विश्व आदिवासी जनजाति दिवसको अवसरमा काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै नेता पौडेलले यस्तो बताएका हुन् ।

उनले भने,‘विगतमा आदिवासी जनजातिहरुको अधिकार स्थापित् गर्नको लागि मैले नै २० बुँदे सम्झौता गरेको थिएँ । हाम्रै पार्टी सरकारमा हुँदा महासंघ खोल्नको लागि १९ करोड रुपैयाँ सहयोग गरेको थियो । तर, अहिले कम्युनिष्टहरुले अधिकार दिनको लागि कुरामात्रै मिठो गर्ने तर काम सुको पनि नगर्ने गरेको देखियो ।’

सत्तारुढ दल नेकपाका अध्यक्षद्धय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले बोल्ने काममात्रै गरेको तर व्यवहारमा कुनै काम नगरेको नेता पौडेलले सुनाए । उनले भने,‘मधेशवादी दलका साथीहरुले वर्तमान प्रधानमन्त्री ओलीजीलाई मधेश विरोधी भन्ने गरे तर ओलीजीकै नेतृत्वमा रहेको सरकारलाई समर्थन गर्नुभयो ।’

संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानले सबैको अधिकार र पहिचानलाई सम्मान गरेको पनि उनले सुनाए । उनले भने,‘यस संविधानले समानता, स्वतन्त्रता र समतामूलक समाज निर्माण गर्न दृढ संकल्प लिएको छ।’ संविधानले द्धन्द्ध मेटाउने र सम्मान भेटाउने काम गरेको पनि उनले बताए । उनले थपे,‘अहिलेपनि जो विभेदमा पर्नुभएको छ, उहाँहरुको सम्मान र अधिकार दिलाउनुपर्छ । त्यसको लागि हाम्रो पार्टी सदैव तयार छ।’