माओवादीलाई संघमा ६५ सिटको प्रस्ताव - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

माओवादीलाई संघमा ६५ सिटको प्रस्ताव



काठमाडौं- निर्वाचनको मिति नजिकिँदै जाँदा नेकपा एमालेले रणनीति अनुसार सत्ता गठबन्धनलाई विफल पार्ने अर्को प्रयासमा लागेको खुलेको छ । सत्ता गठबन्धनमा सिट बाँडफाँटलाई लिएर किचलो भैरहेको बेला एमालेले माओवादी लगायतका दलहरूलाई आकर्षक प्रस्ताव पठाएको खुलेको हो ।

एमालेकै एक शिर्ष नेताका अनुसार अघिल्लो निर्वाचनमा अप्रत्याशित रूपमा बनेको एमाले माओवादी एकताको योजना र चुनावी सहकार्य जस्तै कुनै मोडलमा सहमति यसपटक पनि एकाएक घोषणा हुनसक्ने सम्भावना बढेको छ । उनका अनिसार एमाले र माओवादीका केही नेता यसको गृहकार्यमै छन् ।

शुक्रबार चितवन पुगेका प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धन तोड्ने ठूलो षड्यन्त्र भएको अभिव्यक्तिले पनि यसतर्फ संकेत गर्छ । एमाले र माओवादीका दोस्रो तहका केही नेताहरू सहकार्यको वातावरण बनाउन निरन्तर खटिरहेको ती एमाले नेताको दाबी छ ।

एमालेले माओवादीलाई कांग्रेससँग सहकार्य गर्दा घाटा हुने र एमालेसँग सहकार्य गर्दा फाइदै फाइदा हुने खाका समेत पठाईसकेको बुझिएको छ । एमालेको आन्तरिक सर्वेक्षणले यो निर्वाचनमा ठूलो क्षति हुने देखाइसकेको अवस्थामा पछिल्लो रणनीति बनेको बताइन्छ ।

एमालेका ती नेताका माओवादीलाई ६५ सिट प्रत्यक्ष र प्रदेशमा ४५ प्रतिशत लिएर सँगै चुनावमा होमिन आग्रह गरिसकेको छ ।

माओवादीका दोस्रो तहका नेताहरूले पार्टी नेतृत्वलाई यसबारे जानकारी गराए पनि अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने यो विषयमा तत्काल छलफल गर्न नहुने बताएकाले थप छलफल गर्ने वातावरण नबनेको बताइएको छ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, माओवादीका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेस्ठ र दुई जना अन्य नेताहरूले यसबारे गृहकार्य गरिरहेको खुलेको छ ।

निर्वाचनका लागि जिल्लामा पुगेका एमाले नेताहरूले धेरै विकल्पमा माओवादीलाई समेट्नेगरी योजना बनेकाले तत्काल हतोत्साहित नहुन आग्रह समेत गरेको खुलेको छ । नेताहरूले सत्ता गठबन्धन तोड्न हरसम्भव प्रयास भइरहेको भन्दै निर्वाचनको छुट्टै माहोल बन्ने आशा व्यक्त गरेका छन् ।

सत्ता गठबन्धनमा माओवादीले बढी सिटको बार्गेनिङ गर्नुको अन्तर्य पनि यही भएको बताइन्छ । एमाले नेताहरूले कार्यकर्तालाई निराश नहुन भन्दै एमाले र माओवादी एक भएर अघि बढ्ने सम्भावना बढेको बताएका छन् । नेताहरूले माओवादीका नेताहरूलाई नखेद्न पनि आग्रह गरेको बुझिएको छ ।

एमाले उपाध्यक्ष पौडेलले सहकार्यको वातावरण बनिरहेकाले माओवादीका नेताहरूलाई नचिढ्याउन आग्रह गरेको रूपन्देही एमालेका एक प्रभावशाली नेता बताउँछन् ।

सत्ता गठबन्धनमा सिट बाँडफाट गर्दा माओवादीसहितका दललाई प्रत्यक्षतर्फका आधा दिने र बाँकी कांग्रेसले राख्ने लगभग सहमति जुटेको बताइए पनि किचलो भने कायम नै छ । एमालेको ढाडसकै कारण माओवादीको बार्गेनिङ पावर बढेको कांग्रेसका एक पदाधिकारीको दाबी छ ।

उनका अनुसार एमालेले माओवादीलाई पठाएको प्रस्तावको सूचना प्रधानमन्त्री देउवाले पाइसकेका छन् । उनका अनुसार यदि कांग्रेस लचिलो नबनेको खण्डमा माओवादी र एमाले मिल्न सक्ने सम्भावना छ ।

एमालेका शिर्ष नेताहरूले नै चुनाव हार्ने निश्चित भएकाले ६० सिटको अफर गरिए पनि केही सिट बढाएर फेरि प्रस्ताव पठाउने र माओवादीसँग तालमेल गर्ने योजनामा एमाले छ ।

एमाले स्रोतका अनुसार पार्टी अध्यक्ष केपी शर्मा ओलीकै निर्देशनमा यस्तो तयारी भैरहेको हो । उनका अनुसार माओवादीलाई दिन सकिने सिट र क्षेत्र समेत एमालेले खाका तयार गरिसकेको छ । त्यही योजना अनुसार अघि बढ्न एमाले अध्यक्ष ओलीले प्रस्ताव नेताहरूलाई निर्देशन दिएकाले पौडेल लगायतका नेताहरू हौसिएका छन् । पहिलो प्रस्ताव पठाए पनि माओवादीका तर्फबाट अहिलेसम्म जवाफ आएको छैन ।

एमालेकै योजना अनुसार विभिन्न दलहरूलाई यस्ता खालका विभिन्न प्रस्ताव पठाइएको एमाले स्रोतको दाबी छ । स्रोतका अनुसार माओवादीले नमानेपनि गठबन्धनका केहि दल यसमा सकारत्मक छन् । १६५ सिटमध्ये आधा कांग्रेसले राख्ने र बाँकी आधा अन्य दलले भाग लगाउने सहमति भएको बताइए पनि कांग्रेस भित्रको किचलोका कारण गठबन्धनमा कुनै पनि बेला समस्या आउने देखिन्छ ।

गठबन्धनमा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले २५-२५ सिटमा दाबी गरेका छन् । एमालेसँग समानान्तर छलफलमा रहेका जसपा अध्यक्ष उपेन्द्र यादवले आफ्नो अडान छोडेका छैनन् । यसको कारण पनि एमाले अध्यक्ष केपी शर्मा ओलीसँग पनि समानान्तर छलफल रहेको बताइन्छ ।

उपेन्द्रले ओलीसँग समानान्तर छलफल गरेको सूचना गठबन्धनका नेताहरूले पाएपछि शुक्रबार यादवले गठबन्धन नछोड्ने स्टेटमेन्ट दिनुपरेको थियो । यादवलाई सकेसम्म गठबन्धनमा टिकाउने नत्र लोकतान्त्रिक समाजवादी पार्टी लोसपालाई भित्र्याउनेबारे पनि छलफल चलिरहेको छ ।

यता एमाले अध्यक्ष ओलीले लोसपा नेताहरुसँग पनि निरन्तर भेटेर चुनावमा गठबन्धन गर्न आग्रह गरेका छन् । लोसपा अध्यक्ष महन्थ ठाकुरले यसबारे पार्टीमा छलफल गरेर मात्रै निर्णय गर्ने जवाफ ओलीलाई दिएका छन् ।

नयाँ सरकार बनेदेखि नै गठबन्धन टुटाउन अनेक प्रयास गरिरहेका एमाले अध्यक्ष ओली चुनावसम्म कुनै पनि हालतमा सफल हुने रणनीतिमा रहेको देखिन्छ । यसै योजना अनुसार माओवादी र गठबन्धनका अन्य दलहरूलाई निरन्तर इङ्गेज गरिरहेका छन् ।

सत्ता गठबन्धन रहिरहे एमालेका लागि यो निर्वाचनमा अत्यन्तै खराब नतिजाको सामना गर्नुपर्ने भएकाले पनि सके माओवादी वा अन्य दलालाई लिएर सहकार्य गर्ने त्यो पनि नभए गठबन्धन टुटाउने योजनाबद्ध तयारीमा एमाले छ ।