बैठक अगाडी ओली-प्रचण्ड राष्ट्रपति निवास जाँदै: के हो संकेत ? - Himal Post Himal Post
  • २५ असार २०८३, बिहीबार
  •      Thu Jul 9 2026
Logo

बैठक अगाडी ओली-प्रचण्ड राष्ट्रपति निवास जाँदै: के हो संकेत ?



काठमाडौं– सतारुढ़ दल नेकपाको जारी बैठकमा आज पुन संचालन हुनुभन्दा पहिले अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट गर्ने भएका छन् ।

नेकपाभित्र चर्किएको पछिल्लो विवादलाई लिएर स्थायी कमिटि बैठकमा चर्काचर्की हुने सम्भावना भएकै बेला अध्यक्षद्वयले राष्ट्रपतिलाई भेट गर्ने भएको खबरले पार्टी पंतिमा चर्चाको माहोल बनाएको छ ।

सरकार र प्रधानमन्त्री ओलीको पछिल्लो आरोपलाई केन्द्रमा राखेर स्थायी कमिटि बैठकमा आजदेखि सदस्यहरुले धारणा राख्ने भएकाले त्यसअघि अध्यक्षद्वयले संयुक्त रुपमा राष्ट्रपतिलाई भेट्न लागेको बताइएको छ ।

नयाँ राजनीतिक तथा प्रशाशनिक नक्सा जारीपछिको परिस्थिति र प्रधानमन्त्री ओलीले भारतले आफूलाई हटाउन लागेको भनि दिएको अभिव्यक्तिका विषयमा स्थायी कमिटिमा चर्को आलोचना हुने तयारी भइरहेको छ।

प्रधानमन्त्री र पार्टी सञ्चालनका विषयमा ओलीमाथि दबाब दिने उद्देश्यले स्थायी कमिटिमा ओलीइतर समूहका नेताहरु तयारी अवस्थामा छन्। यसअघि ओलीले अधिकांश समय आफूलाई सन्चो नभएको भन्दै टार्दै आएका छन्।

मदन भण्डारीको जन्मजयन्तीमा आयोजित कार्यक्रममा ओलीले नक्सा जारी गरेपछि आफूलाई हटाउन दिल्ली र काठमाडौंका होटलमा भेला भएको भन्ने अभिव्यक्ति दिएका थिए। त्यही विषयले आजको बैठकमा रौनकता ल्याउने पक्का छ ।