लक्की शेर्पालाई तत्काल राजीनामा दिन ओली-प्रचण्डको निर्देशन ! - Himal Post Himal Post
  • १२ बैशाख २०८१, बुधबार
  •      Wed Apr 24 2024
Logo

लक्की शेर्पालाई तत्काल राजीनामा दिन ओली-प्रचण्डको निर्देशन !



काठमाडौं– अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई बालुवाटार बोलाएर प्रधानमन्त्री केपी शर्मा ओली र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले तत्काल राजीनामा दिन निर्देशन दिएका छन् ।

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डले राजदूत शेर्पाका विवादास्पद कामबाट सरकारको चर्को आलोचना भएको भन्दै राजदूतलाई राजीनामा दिन निर्देशन दिएका हुन् । शेर्पालाई बर्खास्त भन्दा बुद्धीमानीपूर्वक राजीनामा दिन दुवै अध्यक्षले सुझाव दिएका थिए ।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले राजदूत शेर्पालाई बर्खास्त गरेको खबर एकाएक बाहिरिए पनि त्यो सत्यता नभएको सरकारकै मन्त्रीले खुलासा गरिसकेका छन् । मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्रीले राजदूतलाई राजीनामा दिन निर्देशन दिइसकिएको र राजीनामा नआए बर्खास्त गर्ने जानकारी दिएका थिए ।

मानव वेचविखनमा संलग्न रहेको आरोप लागेकी राजदूत शेर्पाविरुद्ध सरकारले छानविन समिति बनाएर अनुसन्धान भइरहेको जनाएको छ ।

परराष्ट्र मन्त्रालयले राजदूत शेर्पालाई काठमाडौं बोलाएर स्पष्टीकरण लिएको छ । उनका पूर्व सवारी चालक एवं भान्छे वाङछु शेर्पाले राजदूत दम्पति मानव वेचविखनमा संलग्न रहेको आरोप लगाएपछि लक्की शेर्पा विवादमा तानिएकी हुन् ।

राजदूत शेर्पाले आफू विरुद्ध लगाइएको आरोप खण्डन गर्दै आएकी छिन् । वाङछुले अष्ट्रेलिया लगिदिने भन्दै राजदूत दम्पतीले पैसा उठाएको, अष्टेलिया नलगेपछि पैसा फिर्ता नदिएको आरोप लगाएका छन् ।