ऋषि कट्टेलको पार्टी किन्न ओली र प्रचण्डको करोडौँको डिल - Himal Post Himal Post
  • ९ माघ २०८१, बुधबार
  •      Wed Jan 22 2025
Logo

ऋषि कट्टेलको पार्टी किन्न ओली र प्रचण्डको करोडौँको डिल



माओवादी केन्द्र र एमाले मिलेर बनेको ‘नेकपा’ नाममाथि दाबी गर्दै अदालतमा मुद्दा हालेर जित हासिल गरेका ऋषि कट्टेल पार्टीबाट निष्कासित भए लगत्तै नेकपा नाम किन्न माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमालेका अध्यक्ष केपी शर्मा ओलीले ठूलै रकम अफर गरेको खुलेको छ ।

स्रोतका अनुसार ओली र प्रचण्ड दुवैले नेकपासँग पार्टी एकता गरेर आफ्नो पार्टीको नाम नेकपै राख्ने गरी मोटो रकम कट्टेललाई अफर गरेका थिए । यसको खुलासा कट्टेललाई कारवाही गरेका लोकनारायण सुवेदीले गरेका छन् ।

एक अनलाइनलाई दिएको अन्तर्वार्तामा सुवेदीले भनेका छन्, ‘नेकपा नाममा तानातान भयो, कट्टेल बेच्ने बार्गेनिङमा लागे ।’ कट्टेलले समेत एक टेलिभिजन अन्तर्वार्ताका क्रममा आफूलाई करोडौंको अफर आएको खुलासा गरेका थिए ।

स्रोतका अनुसार माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमालेका अध्यक्ष ओलीले आफ्ना विश्वासपात्रमार्फत कट्टेलसँग कुरा गरिरहेका थिए ।

ओलीनिकट स्रोतले भन्यो, ‘कट्टेलजीसँग हाम्रो निरन्तर वार्ता भइरहेको थियो । पार्टी एकता गर्ने र नाम नेकपा राख्ने विषयमा उहाँ सकारात्मक देखिनुहुन्थ्यो ।’

उनले कति करोडमा डील भएको थियो भन्ने कुरा भने उजागर गर्न चाहेनन् । यही बीचमा कट्टेल खुमलटारसँग पनि वार्तामै थिए । आफूले मागेको पैसा जताबाट झर्छ त्यतै लाग्ने सोच कट्टेलको थियो ।

पार्टी अहितमा काम गरेको भन्दै सुवेदीको हस्ताक्षरमा जारी गरिएको एक विज्ञप्तिले कट्टेललाई सो पार्टीको साधारण सदस्यबाट समेत निष्कासन गरेको घोषणा गरेको थियो ।

‘दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपालको संविधान विपरित कट्टेलले दलको अहितमा काम गरेको’ विज्ञप्तिमा उल्लेख गरिएको छ ।

सो पार्टीको केन्द्रीय समिति बैठकले माघ ५ गते जाँचबुझ समिति गठन गरी कट्टेललाई स्पष्टीकरण सोधेको थियो । कट्टेलले समिति समक्ष स्पष्टीकरण दिएका थिएनन् । उनलाई राजनीतिक दलसम्बन्धी ऐन २०७३ को दफा १८, नेपाल कम्युनिष्ट पार्टीको विधान २०६९ धारा १७.११ बमोजिम दलको साधारण सदस्य समेत नरहनेगरी सम्पूर्ण पद जिम्मेवारीबाट निष्काशन गरिएको विज्ञप्तिमा उल्लेख छ ।  कट्टेल नेतृत्वको नेकपाले सर्वोच्चमा हालेको मुद्दामा फैसला हुँदा एमाले र माओवादी फुटेका थिए ।