ओली-प्रचण्डबीच छलफलको तयारी: अर्को सहमति बन्ने सम्भावना - Himal Post Himal Post
  • २४ बैशाख २०८१, सोमबार
  •      Mon May 6 2024
Logo

ओली-प्रचण्डबीच छलफलको तयारी: अर्को सहमति बन्ने सम्भावना



काठमाडौं- सत्तारुढ नेकपाभित्र चर्किएको विवाद समाधानका लागि पार्टीका दुई अध्यक्ष प्रधानमन्त्री केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता हुने भएको छ ।

आज बिहिबार उनीहरूबीच छलफल हुने बताइएको छ । मंगलबार भएको स्थायी समिति बैठकमा दुवै पक्षले सहमति गर्दै कदम पछि हटेसँगै थप संवाद सुरु भएको छ ।

प्रधानमन्त्री ओलीले पार्टीमा छलफल नगरी एकाएक संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएपछि परिस्थिति जटिल बनेको थियो । त्यसको काउन्टरमा अध्यक्ष प्रचण्ड तथा वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले संसद अधिवेशन माग गर्दै ८३ सांसदको हस्ताक्षर लिएर राष्ट्रपति कार्यालयमा पुगे ।

पार्टी स्थायी कमिटि सदस्य भिम रावल र पम्फा भुसाल हस्ताक्षर लिएर राष्ट्रपति कार्यालयमा धर्ना बसेपछि ओलीपक्षका नेताहरू त्रसित बनेका थिए । ओलीको प्रधानमन्त्री पद धरापमा पर्ने र राष्ट्रपतिमाथि संकट आउने देखेपछि सहमतिको वातावरण बनेको थियो ।

आज अध्यक्षद्वयबीच हुने छलफलपछि परिषद्को बैठक र संवैधानिक नियुक्तिका विषयमा निर्णयमा पुग्ने बताइएको छ ।

मंगलबारको बैठकमा आयोगका नियुक्तिहरु पार्टीमा छलफल र सहमतिपछि मात्रै गर्न ओलीले वचनबद्धता प्रकट गरेका छन् ।