मुद्दामा एकमत भए ओली र प्रचण्ड - Himal Post Himal Post
  • १७ पुष २०८१, बुधबार
  •      Wed Jan 1 2025
Logo

मुद्दामा एकमत भए ओली र प्रचण्ड



काठमाडौं । लामो समयपछि एउटै मञ्चमा उपस्थित भएका केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड एउटा मुद्दामा एकैठाउँमा भएका छन् । कांग्रेस महाधिवेशनमा दुई नेता उपस्थित हुँदा चासोले हेरिएको थियो ।

ओली र प्रचण्डले के बोल्लान भनेर कान ठनासेका दर्शकले त्यति धेरै घोचपेच भने सुन्न पाएनन्। बरु उनीहरू एउटा मुद्दामा एकमत भए । गत वर्ष ओली नेतृत्वको सरकारले संसद् विघटन गर्ने निर्णय गरेसँगै यी दुई नेता दुई ध्रुवमा बाँडिएका थिए।

ओलीले संसद् विघटनलाई ठीक ठहर्‍याउने प्रत्यन्न गर्दै गर्दा दाहालले भने यसको चर्को आलोचना गर्दै विरोध गरे। यो रस्साकस्सीकै कारण नेकपा विभाजन भएको थियो, २३ फागुको सर्वोच्च अदालतको आदेशसँगै। सर्वोच्चले ‘नेकपा’ नामको अर्को पार्टी रहेको भन्दै ओली-दाहाल नेतृत्वको पार्टीलाई अवैधानिक ठहर गरेको थियो।

पार्टी विभाजनपछि एकअर्काको उछितो काड्न पछि परेनन् यी दुई नेता। १० देखि १४ मंसीरसम्म चितवनमा आयोजना भएको नेकपा (एमाले) को महाधिवेशनको उद्घाटन सत्रमा निमन्त्रणा पाएर पनि दाहाल त्यहाँ गएका थिएनन्।

एमालेको महाधिवेशनमा सहभागी नभए पनि १५ मंसीरबाट काठमाडौँमा आयोजना भएको राष्टिय प्रजातन्त्र पार्टीको महाधिवेशन उद्घाटनस्थलमा भेट हुने अवसर थियो यी दुवै नेतालाई। दाहाल राप्रपाको महाधिवेशनमा सहभागी हुँदा ओली भने भएनन्, जसका कारण यी दुवै नेताको भेट सम्भव हुन पाएनन्।

कांग्रेस महाधिवेशनको उद्घाटन समारोहमा भने यी दुवै नेता सहभागी भए। सहभागी मात्रै भएनन् मिल्नै नसक्ने जस्ता देखिएका दुवै नेता एक विषयमा भने एक ठाउँ आए।

महाधिवेशनको उद्घाटन समारोहमा देशका अन्य राजनीतक दलका नेतृत्वलाई पनि सम्बोधनका लागि निमन्त्रणा गरिएको थियो। केही दिनअघि मात्रै सम्पन्न राप्रपाको महाधिवेशनबाट अध्यक्षमा निर्वाचित राजेन्द्र लिङ्देनले सम्बोधन गर्दै नेतालाई ‘चोर’ भन्ने अवस्था आएको बताए। “हाम्रो राजनीतिक व्यवस्था बिग्रिँदै जाँदा जनताले नेतालाई चोर भन्ने अवस्था आएको छ,” राप्रपाको नव निर्वाचित अध्यक्ष लिङदेनले भने।

जनताले नेतालाई चोर भन्ने अवस्था आएको लिङ्देनको भनाइलाई इंगित गर्दै प्रचण्डले त्यस्सो अवस्था नआएको बताएका छन्। उनले सम्बोधनका क्रममा उपस्थितलाई ‘के नेतालाई चोर भन्ने अवस्था आएकै हो त?’ प्रश्न गरे। कांग्रेस महाधिवेशनमा उपस्थित सर्वसाधारणले अवस्था त्यस्तै छ भनेको सुनिए पनि दाहालले यस्तो नभएको बताए।

दाहालपछि सम्बोधनका लागि आएका ओलीले पनि लिङ्देनको भनाइ खण्डन गरे। जनताले नेतालाई चोर भन्ने अवस्था आएको कुरालाई अस्वीकार गरे। ओली र दाहाल दुवैले लिङ्देनको अभिव्यक्तिप्रति आपत्तिसमेत जनाए।