नेकपामा फेरि बिग्रियो सहमति: ओली–प्रचण्डबीच भनाभन - Himal Post Himal Post
  • २ जेष्ठ २०८१, बुधबार
  •      Wed May 15 2024
Logo

नेकपामा फेरि बिग्रियो सहमति: ओली–प्रचण्डबीच भनाभन



काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीमा विवाद समाधान भएको आंकलन गरिरहँदा दुई अध्यक्षबीच फेरि चर्काचर्की भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पछिल्ला सरकारका नियुक्तिलाई लिएर भनाभन नै भएको स्रोतले बताएको छ ।

लामो समय चलेको विवाद समाधान गर्न कार्यदल नै गठन गरेर समाधान खोज्ने र केहि नयाँ सहमतिसाथ् अगाडी बढ्ने भनिएकै केहि दिनमा प्रधानमन्त्री ओलीले पार्टीमा सल्लाहा नै नगरी एकलौटी ढंगले नियुक्ति गरेपछि प्रचण्ड-नेपाल समूह ओलीले सहमति फेरि भत्काएर विवाद निम्त्याउन खोजेको आरोप लागेको छ ।

कार्यदलले पार्टीभित्र उत्पन्न गतिरोध चिर्न निकास खोजिरहेका बेला प्रधानमन्त्री ओलीले एकलौटी नियुक्ति गरेको भन्दै प्रचण्डले प्रधानमन्त्री ओलीलाई भेटेरै असन्तुष्टि राखेको बुझिएक छ । प्रचण्डले असन्तुष्टि राखेपछि दुई अध्यक्षबीच भनाभन भएको स्रोतले दाबी गरेको छ ।

६ सदस्यीय कार्यदल लगातार बैठक बसेर काम गरिरहेको छ । कार्यदल काम सकेपछि मात्रै दुई अध्यक्ष बसेर, पार्टीबाट निर्णय गराएर, प्रस्ताव तयार पार्ने समझदारी भएको थियो । यस्तो अवस्थामा प्रधानमन्त्रीले पार्टीलाई नसोधी कुनै पनि निर्णय नलिने समझदारी समेत भएको समेत बताइएको छ ।

सहमति विपरीत ओली एकलौटी अघि बढेको र पार्टीलाई नसोधी नियुक्ति, सिफारिस प्रक्रिया अघि बढाएको भन्दै प्रचण्ड-नेपाल समूह प्रधानमन्त्री ओलीसंग फायर बनेका छन् ।

मंगलबार प्रधानमन्त्री ओली र पार्टी अध्यक्ष प्रचण्ड भेट गरि असन्तुष्टि राख्दा भनाभन भएको बताइएको छ । भेटमा अध्यक्ष प्रचण्डले पार्टीभित्रको विवाद अन्त्यको उपाय खोजिरहेका बेला झन् विवाद निम्त्याउने काम गरेको भन्दै असन्तुष्टि पोखेका थिए । त्यसको जवाफमा प्रधानमन्त्री ओलीले यी नियुक्ति त्यति ठुला नभएकाले पार्टीलाई सोध्न उचित नभएको बताएको स्रोतले बतायो ।

‘कार्यदलले काम गरिरहेको छ । तर, तपार्ईं मन्त्रिपरिषद् बैठक राखेर धमाधम नियुक्ति गरिरहनुभएको छ । तपाईंको पुरानै बानी र व्यवहार दोहोरियो यसले सहमति बन्दैन । जे निर्णय गर्ने हो, पार्टी कमिटीमा छलफल गरेर गरौं । अन्यथा सहमति खोज्ने कुराको कुनै अर्थ छैन ।’ प्रचण्डको भनाई उद्घृत गर्दै स्रोतले भन्यो ।

भदौ १ गतेको मन्त्रिपरिषद् बैठकले केही दिनअघि मात्रै प्रेस काउन्सिल नेपालमा सदस्य नियुक्त भएकी दुर्गा भण्डारी (पौडेल)लाई कार्यवाहक अध्यक्ष दिने निर्णय गरेको थियो ।

किशोर श्रेष्ठलाई पदमुक्त गर्दै भण्डारीलाई कार्यवाहक दिइएकोमा पार्टीभित्र असन्तुष्टि बढेको छ नै । सर्वोच्च अदालतमा मुद्दा पनि परेको छ । भदौ १ गतेकै मन्त्रिपरिषद् बैठकले युवा तथा साना व्यवसायी स्वरोजगार कोषको उपाध्यक्षमा देवराज रोकालाई नियुक्त गर्ने निर्णय गरेको छ ।

त्यही दिनको मन्त्रिपरिषद्को बैठकले परराष्ट्र सेवामा रहेका सहसचिव गेहेन्द्र राजभण्डारी बेल्जियम र युरोपियन युनियनको राजदूत सिफारिस गरको छ । परराष्ट्र सेवामै रहेका तपस अधिकारीलाई पाकिस्तान र रामकाजी खड्कालाई जर्मनीको राजदूतमा सिफारिस गरेको सार्वजनिक गरिएको छ ।

त्यसका अतिरिक्त थुप्रै नियुक्तिका निर्णय गरेर बाहिर नल्याइएको केहि नेताहरूले बताएका छन् ।

पार्टीमा एकलौटी गरेको र सरकार संचालन पारदर्शी नभएको भन्दै प्रचण्ड-नेपाल समुहले प्रधानमन्त्री ओलीको कार्यशैलीमाथि पटक पटक प्रश्न उठाएका छन् ।