पार्टी विभाजन र राजिनामाको बिषयमा बालुवाटारमा ओली-प्रचण्ड चर्काचर्की
काठमाडौं- पार्टीमा विवाद बढेपछि विभाजनको डिलमा पुगेको सत्तारुढ दल नेकपाको निर्णायक भनिएको दुई अध्यक्षबीचको छलफल झनै तिक्ततापूर्ण बनेको बताइएको छ । पार्टी विभाजन र राजिनामाको बिषयमा एकअर्काले आरोप प्रत्यारोप गरेपछि ओली-प्रचण्डबीच चर्काचर्की नै भएको बुझिएको छ ।
बिहीबार करिव १ घण्टा भएको छलफलमा दुई अध्यक्षले एकार्कालाई आरोप प्रत्यारोप गरेरै बिताएको एक नेताले बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा अध्यक्षद्वय केपी ओली र दाहाल प्रचण्डले एक अर्कालाई गुटको भेला चलाउन सक्रिय भएको भन्दै आरोप लगाएका थिए ।
भेटमा दाहालले अर्का अध्यक्ष ओलीसँग पार्टी फुटाउने गतिबिधि बालुवाटारबाटै भैरहेको र आरोप भने आफूलाई लगाउने गरिएकोप्रति गम्भीर असन्तुष्टि जनाएका थिए ।
“पार्टी फुटको आरोप मलाई लगाउने तर तपाईंहरू प्रदेश–प्रदेशमा बैठक गर्दै हिँड्ने । यो तरिका राम्रो भएन । यसले कुनै निकास दिँदैन । जे कुरा राख्नुपर्ने हो, बैठकमै राख्नुहोला,” प्रचण्डको भनाइ उद्धृत गर्दै ती नेताले भने, “फुटका गतिविधि तपाईंहरूले गरिराख्नुभएको छ ।”
त्यसको जवाफमा ओलीले आफुले गुटको भेला गरेको नभई दाहालले नै बाहिर-बाहिर अनेकखाले भेला बोलाएर गुट चलाएको आरोप लगाएका थिए ।
त्यस्तै प्रचण्डले पार्टीभित्र कसले राजिनामा मागेको छ र ? बाहिर बाहिर राजिनामा दिन्न भनेर भन्नु भएको ? भन्दै प्रश्न गरेका थिए । साथै प्रचण्डले मदन भण्डारी फाउण्डेसनको नाममा गुटको भेला बोलाएको भन्दै अध्यक्ष ओलीसँग असन्तुष्टि पोखेका थिए ।
आजको छलफल दुई अध्यक्षबीच तिक्ततापूर्ण रहेको स्रोतले जनाएको छ । आजको भेटमा कुनै पनि सहमति भएको छैन ।
अध्यक्ष ओली ‘तपाईहरु षडयन्त्रमा लाग्नु भएको छ, म त्यसको सामना गर्छु’ भन्ने शैलीमा प्रस्तुत भएको स्रोतले जनाएको छ ।
छलफलमा दाहालले पार्टीको सचिवालय बैठक बोलाउने र सबै कुरा त्यहीँ छलफल गर्न भनेका थिए । तर यसबारेमा कुनै पनि सहमति हुन सकेको छैन।