प्रधानमन्त्रीले कसैलाई मान्छे नै मान्दैनन : पौडेल - Himal Post Himal Post
  • १० माघ २०८२, शुक्रबार
  •      Fri Jan 23 2026
Logo

प्रधानमन्त्रीले कसैलाई मान्छे नै मान्दैनन : पौडेल



सिन्धुली — नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संविधानको मर्म माथि सरकारले प्रहार गरेको बताएका छन् । नेपाल प्रेस युनियन सिन्धुलीले बुधबार आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले सरकारको नीति तथा कार्यक्रममा भएका त्रुटीलाई प्रतिपक्षले सच्याउँदा समेत वेवास्ता गर्दै पेलेर पास गराउने कार्य भएको आरोप लगाए ।

प्रधानमन्त्रीको अभिव्यक्ति कसैलाई मान्छे नै नगन्ने खालको भएकाले समस्या उत्पन्न भएको नेता पौडेलको भनाइ थियो।

अलोतान्त्रिक तरिकाले सरकारको नीति कार्यक्रम पास भएको टिप्पणी गर्दै नेता पौडेलले ‘लथालिंग देशको भताभु्ग चाला, जसजसले सक्छ, उसैले खाला’ भन्ने जस्तै गरी लुटतन्त्र मच्चिएको आरोप लगाए।

कांग्रेसले थालेको जागरण अभियानका क्रममा प्रदेश २ को धनुषा हिँडेका पौडेलले सबै किसिमका अराजकता र गलत प्रवृत्तिको चिरफार गर्ने जनाए। अभियानले आफैं भित्र भएको धुलोलाई समेत बढार्ने जनाउ दिए। भर्खरै एकीकरण भएको समाजवादी पार्टी नेपाल तर्फ इंगित गर्दै नेता पौडेलले ११ प्रदेशको कुरा ल्याएर जनतालाई भ्रममा पारेको उल्लेख गरे। संविधानले टुंग्याएको कुरालाई फेरि बखेडा झिकेर देशलाई अन्योलतामा धकेल्ने काम भएको पौडेलको भनाइ थियो। एक प्रसंगमा पौडेलले आफू कुनैपनि काण्डमा नमुछिएको भन्दै दोषी उम्कन नहुने तर्क गरे।

जागरण अभियानकै क्रममा सिरहा खटिएका केन्द्रीय सदस्य एवं पूर्व अर्थमन्त्री रामशरण महतले सरकारको काम सपना बेच्ने कुरा गर्ने मात्र भएको बताए। अझै संविधानको पूर्ण कार्यान्वयन नभइसकेकाले संक्रमणकालीन अवस्था रहेको महतले जनाए।

राष्ट्रपति, प्रधानमन्त्री र नेताका नाममा सडक तथा विभिन्न कार्यक्रम ल्याइ सरकारले बद्नाम गर्ने काम गरेको महतको आरोप थियो। कांग्रेस सरकारमा हुँदा गरिएको कामलाई आफू र आफ्ना नेताको नाम दिइ वर्तमान सरकारले एकलौटीकरण गरेको महतको भनाइ छ। हावादारी र कपोकल्पित काम मात्र वर्तमान सरकारले गरेको उनले बताए। ७ वर्षमा पनि नआउने चिनको रेल तीन वर्ष भित्र आउँछ भनेर भ्रम फैलाएको नेता महतले टिप्पणी गरे।