प्रधानमन्त्री ओलीले अस्पतालबाटै लेखे यस्तो भावुक पत्र ! - Himal Post Himal Post
  • ८ पुष २०८२, मंगलवार
  •      Tue Dec 23 2025
Logo

प्रधानमन्त्री ओलीले अस्पतालबाटै लेखे यस्तो भावुक पत्र !



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (ने क पा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले आफू अस्पतालबाट चाँडै नै फर्कने र समृद्ध नेपालको सपना साकार पार्न सक्रिय रहने प्रतिवद्धता व्यक्त गरेका छन् । प्रधानमन्त्री ओलीले आज एक सन्देश प्रकाशन गर्दै सो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

“चिकित्सकहरुले मलाई दिनुभएको जानकारी अनुसार म छिट्टै नै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु ” प्रधानमन्त्री ओलीले सन्देशमा लेखेका छन् “विगतमा झैं समग्र देशवासी दिदीबहिनी–दाजुभाईहरुको सहयोग र सद्भाव निरन्तर रहनेमा म विश्वस्त छु । ”

प्रधानमन्त्री ओलीले केही सामाजिक सञ्जाल र डिजिटल सञ्चार माध्यमबाट आफ्नो स्वास्थ्यका बारेमा गरिएको प्रचारबाजीबाट प्रभावित नहुन सबैलाई आग्रह गेका छन् ।

प्रधानमन्त्री ओलीले सन्देशमा भनेका छन् “सामाजिक सञ्जाल तथा केही कुत्सित मनसाय बोकेका डिजिटल मिडियाबाट मेरो स्वास्थ्य अवस्थाका बारेमा गरिएको आधारहिन प्रचार तथा विषयलाई अनावश्यक रुपमा सनसनीपूर्ण बनाएर गरिएको प्रचारवाजीको मलाई जानकारी छ । यसप्रकारका भ्रामक प्रचारबाट प्रभावित नहुन सबैलाई हार्दिक अनुरोध समेत गर्दछु ।”

प्रधानमन्त्री ओलीले सन्देशमा मौसमी रुखाखोकी र त्यसबाट हुनसक्ने संक्रमणको रोकथामका लागि आफू त्रिभूवन विश्वविद्यालय शिक्षण अस्पतालको मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइ रहेको उल्लेख गरेका छन् ।

प्रधानमन्त्री ओलीले मुलुकका केही भागमा घटेका घटनाप्रति चासो व्यक्त गर्नै त्यसमा आफू संवेदनशिल भएको उल्लेख गरेका छन् । “ धर्म, संस्कृतिको नाममा होस वा दलीय बहसको नाममा, आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि दुष्कर्म मान्य हुनै सक्दैन” प्रधानमन्त्री ओलीले लेखेका छन् “ यस्ता प्रकृतिका कार्यमा संलग्न जोसुकैलाई पनि राज्यको प्रशासन र सुरक्षा निकायले कानून बमोजिम कार्वाही गर्छ ।”

दङ्गा, हुल हुज्जत र हिंसाबाट सामाजिक सदभाव विथोल्ने कार्यले सुशासनलाई विथोल्ने प्रधानमन्त्री ओलीको धारणा छ । शान्ति सुव्यवस्था भङ्ग गर्ने यस्ता अपराधिक कार्यबाट समृद्धिको महाअभियान विथोलिने र विकासको मार्ग भत्किने तर्फ पनि प्रधानमन्त्री ओलीले सबैलाई सचेत गराएका छन् ।

आफ्नो स्वास्थ्यका बारेमा चासो र चिन्ता गर्ने राष्ट्रपति, उपराष्ट्रपति, दलका नेता, संवैधानिक अंग विदेशी कुटनीतिक नियोग, कर्मचारी लगायत स्वदेश तथा विदेशबाट आफ्नो स्वास्थ्य लाभको कामना गर्नेहरुलाई प्रधानमन्त्री ओलीले धन्वयाद ज्ञापन गरेका छन् ।