प्रधानमन्त्रीका सल्लाहकारसंग पत्नी राधिका शाक्य ‘फायर’

काठमाडौं- ‘मैले भनेकै हो, अस्पतालमै ठीक छ, यहाँ नआएको भए हुन्थ्यो…’ प्रधानमन्त्री केपी ओली पत्नी राधिका शाक्य आइतबार बालुवाटारमा निकटस्थहरूसँग गुनासो गर्दै थिइन् ।
प्रधानमन्त्रीको सुस्वास्थ्य र दीर्घायुप्रतिको चिन्ता र चाहना स्वयं उहाँ र परिवारलाई त हुने नै भयो, तर बालुवाटारको सचिवालय उति चिन्तित भएजस्तो बुझिँदैन, स्वयं प्रमपत्नीको असन्तुष्टिबाट पनि । शुक्रबार साँझ उनी सिंहदरबार जाने कार्यक्रम तय भयो ।
चिकित्सकहरू ‘हुँदैन–हुँदैन’ भन्दै थिए । तर, सचिवालयका अधिकारीहरू यति सेन्सिटिभ कुरामा रोक्न नमिल्ने भनी जिद्दी गर्दै थिए । त्यसमाथि प्रधानमन्त्री आफैँले मुख खोले, ‘म अस्पतालमै भएको भए एउटा कुरा, अब डिस्चार्ज भैहालेँ, जान्छु ।’
यसपछि निजी चिकित्सक डा. दिव्या सिंह शाहले शर्त राखिन्, ‘उहाँ सिंहदरबार पुग्नुअघि सेनिटाइजर स्प्रे छरियोस्, इन्फेक्सनका अरु सबै खतराबारे पूर्वसचेतता अपनाइयोस् । ’
जनआस्थाले हिजो मंगलबार विहान डा.दिव्यालाई सोध्यो, ‘के प्रधानमन्त्रीज्यू यहाँहरूको सल्लाहविपरित हिँडडुल गर्दै हुनुहुन्छ ?’ उनले भनिन्, ‘उहाँको घाउ निको हुन बाँकी छ । घाउ निको नहुञ्जेल कतै निस्कनुहुन्न ।’ तर, आइतबार कसरी सिंहदरबार जाने अनुमति भयो त ? भन्ने जिज्ञासामा भनिन्, ‘त्यो एकदमै इम्पोर्टेन्ट काम थियो । हामीले छलफल गरेरै, पूर्वसचेतता अपनाउने गरी पठाएका हौँ । त्योबाहेक अरुतिर जान मेडिकल्ली अलाउड छैन ।’
शुक्रबार अस्पतालबाट डिस्चार्ज हुनुअघि र आइतबार फलोअपमा गएका बेला पनि प्रमपत्नी अस्पतालमै आराम गराउन उचित हुने भन्दै थिइन् । राधिकाको कुरामा डा. दिव्यासहितका सबै चिकित्सक सहमत थिए ।
तर, प्रमको सचिवालय हेर्ने मान्छेहरू भन्दै थिए, ‘यहाँ जति धेरै राख्यो, उहाँका बारेमा चाहिने, नचाहिने हल्लाले हाम्रो टाउको खान्छ । त्यसैले लैजाऔँ, बालुवाटारमै पूरै आराम गराएर राखौँ, डाक्टर सा’बहरूको टिम पनि उतै जाऔँ । ’ त्यसो भन्दा पनि राधिका मुन्टो हल्लाएर अस्वीकार गर्दै थिइन् । तर, स्वयं प्रमले ‘हुन्छ नि त’ भनिदिएपछि डाक्टरहरूलाई आपत । प्रमपत्नीले अस्पतालमै राख्न चाहेको कुरा त डा.दिव्याले पत्रकार सम्मेलनमै सुनाइन् पनि ।
जनआस्था साप्ताहिकको समाचार अनुसार अस्ति सोमबार साँझ सात बजे प्रधानमन्त्रीलाई भेट्न कृषि मन्त्री घनश्याम भुषाल, पर्यटन मन्त्री योगेश भट्टराई र स्वास्थ्य मन्त्री भानुभक्त ढकाल सँगै पुगेका थिए ।
भर्खरै २–२ वटा भेटघाट सकेर प्रधानमन्त्रीचाहिँ एकजना स्वास्थ्य परिचारिका (नर्स) को निगरानीमा ओछ्यानमा पल्टिएका थिए । भानुले मुखबाट मास्क झिकेर परैबाट सोधे, ‘हामीलाई चिन्नुभो ?’ प्रधानमन्त्रीले मुस्कुराउँदै भने ‘म तपाईंहरूलाई चिन्दिनँ त…। ’
चिकित्सकहरूका अनुसार, प्रधानमन्त्रीका लागि कम्तिमा तीन महिना पूरै आरामको जरुरी छ । त्यसमाथि घाउ नओभाउञ्जेलको अवधी सबभन्दा बढी संवेदनशील हुन्छ ।

