यसकारण पार्टी एकतामा आशंका बढ्योः प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी एकताको घोषणा छिट्टै हुने बताएका छन् । बिहीबार राजधानीमा आयोजित कार्यक्रममा पार्टी एकताका विषयमा देखिएका विवाद समाधानका लागि समय लागेको संकेत गरे ।
‘बालुवा, गिट्टी र पानी घोल्नु पर्छ, यस्तो गर्दा बालुवाले आफ्नो महत्त्व बढी भन्छ । गिट्टीले पनि अफनो महत्त्व बढी देखाउँछ, पानीले पानी नभए सुख्खा भयो भने नजम्ला भन्छ । उपयुक्त मात्रामा हुन्छ कि हुँदैन भन्ने हो,’ प्रधानमन्त्री ओलीले भने, ‘तर हामी उपयुक्त रूपमा मिलान र जडान गर्छौँ । पानी अलि बढी भए सुक्न अलि बढी समय लाग्छ ।’
उनले पार्टी एकता निकट भविष्यमै हुने स्पष्ट पारे । ‘चाँडै नै दुई पार्टीको एकता हुँदैछ, एकता भएपछि सबल, सुदृढ र एकीकृत कम्युनिस्ट पार्टीको निर्माण हुन्छ’, प्रधानमन्त्री ओलीले भने, ‘यो एकताले देशमा मनौबैज्ञानिक र व्यवहारिक हिसाबले ठुलो परिवर्तन ल्याउने छ ।’
प्रधानमन्त्री ओलीले पछिल्लो समय अनावश्यक कुराले चर्चा पाउँदा एकता हुने कुरामा जनतामाझ आशंका बढेको समेत बताए । ‘पार्टी एकता गर्दा म कहाँ हुन्छु, मेरो पक्ष कहाँ हुन्छ जस्ता अनावश्यक कुराले चर्चा पाउँदा जनतामा आशंका बढेको छ,’ उनले भने, ‘देश र जनताप्रति गर्नुपर्ने कर्तव्य भन्दा आफ्नो फाइदा हेर्दा कम्युनिस्ट एकतामा आशंका बढेको हो ।’
प्रधानमन्त्री ओलीले विचार, अगाडिका हाम्रा अभिभाराहरु, हामीले गर्नुपर्ने काम, देश र जनताप्रति हाम्रो कर्तव्य, त्यसको चर्चा भन्दा म कहाँ हुन्छु, मेरो पक्ष कहाँ हुन्छ, हामी कति हुन्छौँ भन्ने कुराको अनावश्यक चर्चा भइरहेको समेत बताए । यस्ता चर्चाले एकतामा आशंका उब्जिएको उनको भनाई थियो ।